सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीलाई आममाफीबारे अघि बढाएको प्रक्रियामा विरोध 

२०८० जेठ १२, ११:५९ खबर संवाददाता

धनगढीः रेशम चौधरीलाई आममाफीबारे अघि बढाएको प्रक्रियामा विरोध गरिएको छ। राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता तथा संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको हो। चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ।

राष्ट्रिय जनमोर्चाले आज विज्ञप्ति निकालेर कैलालीको टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको र त्यो घटनाका मुख्य नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने उल्लेख गरेको छ। यसले देशमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने विज्ञप्तिमा भनिएको छ।

जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाइएको प्रक्रिया रोक्न सरकारसँग माग पनि गरेको छ। २०७२ साल भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले  हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। सरकारले गणतन्त्र दिवसका अवसरमा उनलाई आममाफी दिन प्रक्रिया अघि बढाएको छ। सरकारले आममाफीलाई लिएर पठाएको पत्रमाथि राष्ट्रपति कार्यालयले अध्ययन र परामर्श थालेको छ। 
unn.prixa.net

कमेन्ट लोड गर्नुस