धनगढीका विद्यालयमा ‘जातीय भेदभाव २’ प्रदर्शन हुने
धनगढी: सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘जातीय भेदभाव २’ धनगढीका विद्यालय तथा शैक्षिक संस्थामा प्रदर्शन गरिने भएको छ।
प्याट टिम कलेक्सन फिल्म्सको आयोजनामा निर्माण गरिएको चलचित्र आउँदो शुक्रबारदेखि विद्यालयस्तरमा विशेष प्रदर्शन गर्न लागिएको हो। चलचित्रले समाजमा विद्यमान जातीय विभेद तथा सामाजिक सचेतनाको विषय उठान गरेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा अमृत थापा र पूजा अयेर मुख्य भूमिकामा छन्। चलचित्रको निर्देशन सञ्जीव खड्काले गरेका हुन्।
आयोजकका अनुसार चलचित्र प्रदर्शनबाट संकलित कुल टिकट शुल्कको ५ प्रतिशत रकम आवश्यक परेका व्यक्तिलाई आर्थिक सहयोग गरिनेछ। चलचित्रको टिकट शुल्क प्रतिव्यक्ति १५० रुपैयाँ तोकिएको छ।
धनगढीका विद्यालयले आफ्नै परिसरमा चलचित्र प्रदर्शन गर्न सक्ने व्यवस्था गरिएको छ। इच्छुक विद्यालय तथा शैक्षिक संस्थाले आयोजकसँग प्रत्यक्ष वा अनलाइन सम्पर्क गरी प्रदर्शनको मिति तय गर्न सक्नेछन्।
आयोजकले धनगढीका विद्यालय तथा शैक्षिक संस्थालाई चलचित्र प्रदर्शनमा सहभागिता जनाउन आग्रह गरेको छ। थप सम्पर्कका लागि आयाेजकले फाेन नम्बर ९७०४५३७८३० ताेकेकाे छ।