नागरिकता विधेयक संसद्मा आउनुपर्छः ओली
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक संसदमा टेबुल हुनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले नागरिकता विधेयक संसद्को अधिकारको प्रश्न रहेको भन्दै जसरी भएपनि संसद्मा पेश हुनुपर्ने बताएका हुन्। ओलीले भने,‘यो विधेयकलाई फेरि संसद्मा ल्याउनुपर्छ। जसो गरेपनि पार्लियामेन्टमा ल्याउनुपर्छ। संसद्ले छलफल गर्न पाउनुपर्छ। यो नयाँ पार्लियामेन्ट हो। कहिल्यै क्याविनेटको अनुरोधमा विधेयक राष्ट्रपतिले ल्याउँछ? सरकारले संसद्मा मस्यौदा पेश गर्ने हो।’
उनले यो पुरानो संसद् नरहेको र नयाँ पार्टी आएको बताए। ओलीले भने,‘कानुन बनिसकेको छैन भने त्यो रोकिन्छ। संसद्मा फेरि ल्याउनुपर्छ। यो उही संसद् होइन अर्को संसद् हो। त्यो बनावट अर्कै संसद्को छ त्यतिबेला मसँग १२१ सिट थियो। अहिले ७९ सिट छ। त्यो ठाउँमा अरु आएका छन्। कांग्रेसले उदुम सिट बढाएको छ। कांग्रेसले सिट बढेको मात्रै थाह पाउँछ। डेमोक्रेसी थाह पाउँदैन।
माओवादी केन्द्रले त प्रधानमन्त्री पाएको छ। किल्ला बनाएर सुरक्षित बनाइरहेको छ। सत्ता कसरी सुरक्षित गर्ने मात्रै ध्याउन्न छ’ ओलीले भने।