सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा माओवादी तथा बामदेव गौतम सहितको ५ दलिय समाजवादी मोर्चा बन्दै

२०८० जेठ ३२, ०५:३२ खबर संवाददाता

काठमाडौंः  सरकारमा रहेका तीन दल र सरकार बाहिरका दुई दलसहित ५ दलीय ‘समाजवादी मोर्चा’ बन्ने लगभग निश्चित भएको छ।

कार्यदलस्तरमा समाजवादी मोर्चाको घोषणापत्र तयार भएसँगै औपचारिक रूपमा मोर्चा घोषणा गर्न लागिएको नेताहरुले बताएका छन्। समाजवादी मोर्चाका लागि यसअघि तीन दलका तर्फबाट नेताहरू कृष्णबहादुर महरा, राजेन्द्र श्रेष्ठ र प्रमेश हमाललगायत दस्ताबेज तयारीमा जुटेका थिए। 

‘समाजवादी मोर्चाको घोषणापत्र तयार भैसकेको छ, त्यसलाई शीर्ष नेताले फाइनल टच गरेपछि घोषणाको मिति र समय सार्वजनिक हुन्छ’, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भने, ‘विप्लवजी र उपेन्द्र यादवजी अहिले काठमाडौँ उपत्यका बाहिर भएकाले केही समय ढिला हुन पुग्यो।’ नेता श्रेष्ठका अनुसार अहिलेसम्म भएको सहमति अनुसार समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत सहभागी हुने निश्चित जस्तै छ। गौतम नेकपा विभाजनपछि नेकपा एकता अभियान गठन गरेर सोहीमार्फत राजनीतिक गतिविधि गर्दै आएका छन्।

यीमध्ये माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी सरकारमा छन् भने विप्लव नेतृत्वको नेकपा र वामदेव नेतृत्वको नेकपा एकता अभियान सरकारबाहिर छन्। यता नेकपा माओवादी केन्द्रसँग यसअघि नै पार्टी एकताको तयारीमा रहेको डा. बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी भने उक्त मोर्चामा तत्काल सहभागी हुने नहुने निश्चित भैसकेको छैन।

‘मोर्चामा विप्लव र वामदेवसहित सरकारमा रहेका तीन दल सहभागी हुने कुरा छ तर वामदेवले एउटै चुनाव चिह्नको कुरा अघि सार्नुभएको छ’, श्रेष्ठको भनाइ छ। उनले अग्रगामी राजनीतिक परिवर्तनका पक्षधरहरु मिलेर मोर्चा गठन गर्न लागेको पनि बताए। कार्यदलस्तरमा भएको सहमति अनुसार मोर्चाको अध्यक्षता ५ वटै पार्टीका अध्यक्षले आलोपालो गर्ने छन्। छलफलका क्रममा नेता वामदेव गौतमले भने अहिलेबाटै आगामी निर्वाचनमा मोर्चामा आबद्ध सवै दल एउटै पार्टीबाट चुनाव लड्ने गरी सहमति गर्नुपर्ने प्रस्ताव गरेका थिए।

नेकपा एकीकृत समाजावादीका उपाध्यक्ष समेत रहेका कार्यदलका सदस्य प्रमेश हमालले समाजवादी मोर्चाको घोषणा शुक्रवार हुनेगरी तयारी भएपनि अझै केही तयारी बाँकी नै रहेको बताए।
साभारः रातोपाटी
 

कमेन्ट लोड गर्नुस