एनटीयुसीको अध्यक्षमा महेन्द्र र योगेन्द्रबीच भीडन्त
काठमाडौँः नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी)को ७ औं राष्ट्रिय महाधिवेशन असार ४ देखि ६ गतेसम्म हुँदैछ।
काठमाडौँमा हुन लागेको महाधिवेशनको भोलि दिउँसो १ बजे उद्घाटन हुनेछ। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मंगलबार बन्द सत्रको कार्यक्रम छ भने असार ६ गते मतदानको प्रक्रिया सुरु हुनेछ। एनटीयुसीले निर्वाचनको जिम्मा कांग्रेसकै शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)लाई दिएको छ।
महाधिवेशनले नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने एनटीयुसीका वर्तमान महासचिव योगेन्द्र कुमार कुँवरले बताए। एनटीयुसीका उपसभापति तथा प्रचार समिति संयोजक अजयकुमार राईले महाधिवेशनमा करिब १५ सय प्रतिनिधि र प्रयवेक्षक सहभागी हुने बताए। संयोजक राईले भने, ‘आजबाट प्रतिनिधि आउन सुरु भएको छ।
२७ वटा हाम्रा आवद्ध संघ र ७७ वटा जिल्ला तथा ७ वटा प्रदेश अधिवेशन सम्पन्न भएर १५ सय जति प्रतिनिधि र प्रयवेक्षक आउँदैछन्।’उनका अनुसार एनटीयुसीमा चार लाखभन्दा बढी श्रमिक सदस्य रहेका छन्।