रञ्जितासहितका जनप्रतिनिधि टीकापुरमा विकास माग्दै बालुवाटार पुगे
काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टीकापुरको विकासका लागि सात बुँदे ज्ञापनपत्र बुझाइएको छ।
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, टीकापुरका मेयर रामलाल डगौरालगायतले प्रधानमन्त्रीलाई टीकापुरको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन आग्रह गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा टीकापुर नगरपालिकाको गुरुयोजनासहित स्मार्ट सिटी निर्माणको लागि पहल गर्न माग गरिएको छ।
टीकापुर–५ दौलतपुरस्थित सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माणको लागि पहल गर्न, टीकापुरमा विमानस्थल सञ्चालन पहल गर्न, बेलुवाबाट भजनी नगरपालिका जोड्ने पथरैया पक्की पुल निर्माणको पनि माग राखिएको छ।
टीकापुर बसपार्कदेखि पार्क जाने बाटो ढल निकाससहित कालोपत्रे निर्माण, बाहिरी चक्रपथ निर्माण, प्लान्ट क्वारेनटाइन र खाद्य गुणस्तर कार्यालयको पुनस्स्थापना र टीकापुर क्षेत्रमा वाणिज्य कार्यालय र यातायात कार्यालय स्थापनाको पहलका लागि प्रधानमन्त्रीसँग आग्रह गरिएको छ।