नवलपुरको दलदलेमा बस दुर्घटना, ११ जना घाइते
नवलपुरः नवलपुरको देवचुली ११ दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
बुटवलबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा बसमा सवार २१ जनामध्ये ११ जना घाइते भएका छन्। घाइते ११ मध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र पाँच जनाको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको छ। दलदले क्षेत्रमा सडक विस्तारको क्रममा सडकको दायाँबायाँ खाडल रहेको र उक्त खाडलमा बस पल्टिएको जनाइउको छ।
दुर्घटनामा परी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ५ बस्ने ४० वर्षीय सुजन कार्की, काठमाडौंको पुतलीसडक बस्ने ३५ वर्षका रोमराज लामिछाने, ३२ वर्षीया बिजया लामिछाने, ३५ वर्षीया निदान लामिछाने, २८ वर्षीय प्रज्ञा लामिछाने, रामेछापका ३३ वर्षीया स्वस्तिका दाहाल घाइते भएका छन्। त्यस्तै, पाल्पा जिल्लाका ३४ वर्षीय भोजबहादुर जर्धा, अर्घाखाँचीका ३२ वर्षीय विशाल भुषाल, रुपन्देही तिलोत्तमा नगरपालिका–४ का ३२ वर्षीय अवि थापा र बाग्लुङ जिल्लाका ५० वर्षीया कौसिला थापा घाइते भएका प्रहरीले जनाएको छ। बस चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ।