सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग

२०८२ असोज ५, ०१:०२ रासस

झापाः जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका जिल्लाका प्रहरी भवनको पुनःस्थापनाका लागि समुदायस्तरबाट सहयोग जुट्न थालेको छ। कोडिभ–१९ का बेला स्थापना भएको ‘एकका लागि एक अभियान’ले प्रहरी चौकी पुनःस्थापना गर्न  १० लाख सहयोग गर्ने घोषणा गरेको छ। 

अभियानका संयोजक महेन्द्र गिरीले ध्वस्त भएका प्रहरी कार्यालयको पुनःस्थापनाका लागि १० लाख बराबरको कम्प्युटर, ल्यापटप, फर्निचर र निर्माण सामग्री किनेर उपलब्ध गराइने बताए।यसैगरी, मेचीनगरका उद्यमी आनन्द खड्काले जेनजी प्रदर्शनका क्रममा ध्वस्त भएको धुलाबारी ट्राफिक प्रहरी पोष्ट निजी खर्चमा पुनःनिर्माण गरिदिनुभएको छ। उनले मेचीनगरकै ज्यामिरगढी प्रहरी चौकी र इटाभट्टा ट्राफिक प्रहरी पोष्टसमेत निर्माण गरिदिने बताए। 

जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा आगजनीबाट ध्वस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय र अनारमनी इलाका प्रहरी कार्यालयको भग्नावशेष सरसफाइ गर्ने तथा मर्मतमा स्थानीय युवा जुटेका छन्। विर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाइँले विभिन्न सामाजिक संस्थामा आवद्ध २०० भन्दा बढी युवा सरसफाइमा जुटेका बताए। 

गत भदौ २४ गते विर्तामोडमा जेनजीको प्रदर्शनका क्रममा दुबै प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए भने प्रहरीका हातहतियार समेत लुटिएको थियो। हतियार नेपाली सेनाले फिर्ता लिइसकेको छ। झापामा जेनजी प्रदर्शनका क्रममा ७३ प्रहरी इकाई र १५ ट्राफिक युनिटमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए। आगजनी र तोडफोड गरिएका भवनमा प्रहरी बस्ने अवस्था नभए पनि जिल्लाका सबै क्षेत्रमा प्रहरी पूर्ववत परिचालन भइसकेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस