सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिफन्टका उपाध्यक्ष कमल गौतमलाई सहिद घोषणा गर्न माग

२०८२ कार्तिक १५, ०३:३८ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेसम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता तथा जिफन्ट उपाध्यक्ष कमल गौतमलाई सहिद घोषणा गर्न माग गरेका छन्। शनिबार काठमाडौँमा आयोजित जिफन्टको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सो माग गरेका हुन्। 

जिफन्टका उपाध्यक्ष कमल गौतमको ६५ वर्षको उमेरमा गत बिहीबार भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयअगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला निधन भएको थियो। अध्यक्ष श्रेष्ठले श्रमिकको पक्षमा निरन्तर आवाज उठाउने गौतम श्रमिकहरूका लागि महान् सहिद भएको बताए।

उनले जेनजी आन्दोलन र वर्तमान सरकारको रवैयाका कारण हजारौँ श्रमिकहरूको रोजीरोटी गुमेको बताए। उद्योगी र सरकार बिचको टकरावको मारमा श्रमिकहरू पर्न नहुने उनको भनाइ छ। सरकार जेनजी आन्दोलनको माग पूरा गर्नुको सट्टा लोकप्रियतावादमा फसेको श्रेष्ठले आरोप लगाए।

श्रेष्ठले आन्दोलनको नाममा भएको हिंसा र लुटपाटलाई सङ्केत गर्दै भने–  ‘अस्ति भर्खरै जेनजी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झन्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि सहिद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर, लुट्दालुट्दै हाम फालेर मर्नेहरूलाई पनि, चोरलाई पनि सहिद भनियो, चोर्दाचोर्दै तल आगो लगाएर माथिबाट आउन नसकेर मर्नेहरू पनि सहिद भए।’

उनले श्रमिकहरूको अधिकारका लागि आफूहरूको आन्दोलन जारी रहेको पनि बताए।
 

कमेन्ट लोड गर्नुस