धनगढीमा विद्यालयस्तरीय ‘राइजिङ स्टार प्रिमियर लिग’ को ट्रफी सार्वजनिक
धनगढी: कैलालीको धनगढीमा आयोजना हुने विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘राइजिङ स्टार प्रिमियर लिग (आरपिएल)’ को ट्रफी एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजना तथा व्यवस्थापनमा सम्पन्न हुने प्रतियोगिता आगामी मंसिर १८ देखि धनगढी–मट्यारीस्थित श्रीकृष्ण सामुदायिक वनको खेलमैदानमा सुरु हुनेछ।
कक्षा ८ सम्मका विद्यार्थीहरू सहभागी हुने यस प्रतियोगिताबाट नयाँ प्रतिभावान खेलाडी उत्पादनमा ठूलो टेवा पुग्ने विश्वास आयोजक तथा राइजिङ स्टार बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले व्यक्त गरेका छन्। हाल क्रिकेटको सहर मानिने धनगढीमा क्रिकेटको वातावरण केही फिका बन्दै गएपछि पुनः रौनक ल्याउन विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ।
शाहीका अनुसार ग्रासरुट स्तरका धेरै खेलाडी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा सफल हुँदै आएका छन्, र यही परम्परा थप सुदृढ गर्न आरपिएलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पहिलो संस्करणमा २४ टिमको सहभागिता रहने जनाएको छ।
प्रतियोगिताका विजेताले नगद ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार पाउनेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार, उत्कृष्ट बलर र ब्याटरलाई २–२ हजार तथा उदयमान खेलाडीलाई १५ सय प्रदान गरिनेछ।
ट्रफी सार्वजनिक कार्यक्रमका दौरान राइजिङ स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल हरिश शाहीले तयारी तीव्र रूपमा अघि बढिरहेको बताउँदै धनगढी फेरि एकपटक क्रिकेटको उत्सवको माहोलमा रंगिन लागेको उल्लेख गरे। उनले यो प्रतियोगिता प्रत्येक वर्ष निरन्तर रूपमा आयोजना गरिने घोषणा पनि गरे।