समृद्धि, पहिचान र सम्भावनाको साझा मञ्च : सुदूरपश्चिम महोत्सव
धनगढीः सुदूरपश्चिमको सबैभन्दा ठूलो सांस्कृतिक–व्यापारिक पर्व, सुदूरपश्चिम महोत्सव, यस वर्ष आफ्नो १९औँ संस्करण सहित भव्य रूपमा प्रारम्भ भएको छ।
सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि, साँस्कृतिक पहिचान र विकासका सम्भावनाहरुलाई उजागर गर्ने ध्येय सहित वि.सं २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघको आयोजनामा नियमित रुपमा धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै आएको छ।
सोमबार अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलमा एक विशेष समारोहबीच महोत्सवको औपचारिक उद्घाटन गरे। उद्घाटनमा उनले सुदूरपश्चिम प्रदेशसँग जोडिएका ठूला पूर्वाधार परियोजना, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, दोधारा चाँदनीको सुख्खा बन्दरगाह, तथा अन्य पूर्वाधार–केन्द्रित प्रयासहरु सरकारको प्राथमिक सूचिमा रहेको उल्लेख गरे। वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु भए पनि मन्त्रालयबाट गर्न सकिने विकास निर्माणका कामलाई अघि बढाइने उनको भनाइ थियो।
सुदूरपश्चिम महोत्सवको इतिहासले आफैँमा संघर्ष र पहिचानको कथा बोकेको छ। वि.सं. २०६३ सालमा २१ बुँदे मागपत्र बुझाउँदै ‘शालिन आन्दोलन’ को शैलीमा सुरु भएको यो महोत्सव, पछिल्ला वर्षहरुमा प्रदेशकै सबैभन्दा ठूलो उत्सवका रूपमा उभिन सफल भएको छ।
आयोजक संघका तत्कालिन अध्यक्ष तथा धनगढी उपमहानगरपालिकाका वर्तमान मेयर गोपाल हमालका अनुसार, यो महोत्सव सुदूरपश्चिमको कला, संस्कृति, उत्पादन र सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने र स्थानीय अर्थतन्त्रमा उभार ल्याउने उद्देश्यसहित अगाडि बढाइएको थियो।
सुदूरपश्चिामबासिका कतिपय मागहरु अझै पूरा नभए पनि, महोत्सवले सुदूरपश्चिमको आवाज देशभर पु¥याउन ठूलो योगदान दिँदै आएको उनले स्मरण गराए। लमो समयदेखि सुदूरपश्चिमका जनताको अवस्था नफेरिएको तथ्य प्रस्तुत गर्दै मेयर हमालले यो प्रदेशलाई बजेटमा प्राथमिकता दिन पनि सुझाए।
परम्परागत रूपमा प्रत्येक वर्ष प्रधानमन्त्री, मन्त्री वा प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर लामो ‘मागपत्र’ प्रस्तुत गर्दै, मागमा समावेश वुँदाहरु जत्तिकै किलोका माला लगाउने प्रतीकात्मक विधिबाट प्रदेशका प्रमुख आवश्यकताहरू अवगत गराईन्थ्यो। तर यसपटक अन्तरिम सरकार र परिस्थितिका कारण प्रमुख अतिथिलाई किलोको माला भने लगाईएन।
यसवर्षको महोत्सव ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार ः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको छ। नाराले नै यो महोत्सव केवल मनोरञ्जन वा उत्सव मात्र नभई प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक पुनर्जागरणको बाटो हो भन्ने सन्देश दिन्छ। आयोजक संघका अध्यक्ष पुष्करराज ओझाले यो महोत्सवलाई सुदूरपश्चिमको समग्र पहिचान उजागर गर्ने अवसरको रूपमा वर्णन गर्दै उनले सुदूरपश्चिमको विकासकालागि न्यायपुर्ण मागहरु प्रस्तुत गर्ने गरिएको बताए।
‘हामीले यहाँहरुको साथ र समर्थनमा सुरुदेखि नै सुदूरपश्मि प्रदेशको समृद्धिका आधारहरुलाई मागका रुपमा सरकार समक्ष प्रस्तुत गर्दै आएका छौँ, केहि मागहरु पुरा भएपनि मूलभुत मागहरु यथावत नै छन्।’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र सामाजिक न्याय सहितको विकासका लागि जुन स्तरमा निर्णय र कामहरु हुनुपर्दथ्यो त्यो हुन सकेको छैन। समानुपातिक र समावेशी विकासको हकदार हामी सुदूरपश्चिमेली पनि हौँ, हाम्रो भावनालाई बुझेर ठोस कदमहरु चलिनुपर्छ।’
अध्यक्ष ओझाका अनुसार, यस वर्षको महोत्सवमा ५०० भन्दा बढी स्टलहरू राखिएका छन्, जसमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, सूचना–प्रविधि, होटल र स्थानीय उत्पादनसमेत समावेश छन्। सबै स्टल बुकिङ भइसकेको जानकारी उनले दिए। यो तथ्य मात्रले पनि सुदूरपश्चिमका उद्यमी र उत्पादकहरूको सक्रियता र अपेक्षा झल्किन्छ।
यस संस्करणको प्रमुख आकर्षण भनेको ‘बृहत् व्यवसायिक कृषि प्रदर्शनी’ हो। यसअन्तर्गत किसानलाई प्रविधिसँग जोड्ने, व्यावसायिक खेतीलाई आधुनिक बनाउने, जडिबुटी र स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्य राखिएको छ। सुदूरपश्चिम कृषि सम्भावनाले भरिएको प्रदेश भएपनि प्रविधि र बजार पहुँचको चुनौती आज पनि छ। यस्ता प्रदर्शनी किसान–उद्यमी दुवै पक्षलाई नजिक ल्याउने पुल बन्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिमको विविध कला–संस्कृतिलाई पनि महोत्सवमा विशेष स्थान र प्राथमिकता दिइएको छ। सुदूरपश्चिमका परम्परागत नृत्य, गीत, भेषभूषा, जातीय पहिचानयुक्त प्रस्तुति, घरेलु परिकार र मौलिक उत्पादन—सबैलाई मिलाएर महोत्सवलाई प्रदेशकै संस्कृतिको साझा मञ्च झैँ बनाइएको छ। संघका साँस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार स्थानीय कलाकार, महिला समूह र घरेलु उद्यमीले बनाएका उत्पादनलाई विशेष स्थान दिनुले सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउने उद्धेश्य स्पष्ट हुन्छ।
महोत्सवको आकर्षण स्थानिय परिकारहरू पनि हुन्। थारू समुदायका मौलिक खाना, तराई र पहाडी स्वाद मिसिएका स्थानीय भोजनका परिकार, जडीबुटीजन्य खाद्यउत्पादन र सुदूरपश्चिमका विशेष परिकारहरूले महोत्सवमा छुट्टै आकर्षण थपेको छ।
यो वर्ष महोत्सवमा करिब ७ लाख अवलोकनकर्ता आउने अनुमान गरिएको छ। तीन करोड लागतमा आयोजना भइरहेको महोत्सवमा १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा छ। नेपालजस्तो अर्थतन्त्रमा, प्रदेशस्तरमै यस्तो आर्थिक गतिविधि हुनु स्थानीय बजार, उद्योग–व्यापार र उद्यमशीलताको लागि ठूलो प्रेरणा हो।
सुरक्षा व्यवस्थापनमा पनि महोत्सवले व्यवस्थित तरिका अपनाएको छ। अत्याधुनिक सीसी क्यामेरा, पर्याप्त निजी र सरकारी सुरक्षा व्यवस्था, दमकल, प्राथमिक उपचार टोली, र सम्भावित दुर्घटना वा जोखिमलाई मध्यनजर गरी गरिएको बीमा व्यवस्था, यी सबैले महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाएको आयोजक संघको दाबी छ। साथै, बालबालिका र युवापुस्तालाई लक्षित एक्स्प्लोर गेम जोन यसपटक नयाँ आकर्षणको रूपमा जोडिएको छ, जसले मनोरञ्जनमा थप विविधता थपेको छ।
महोत्सव केवल व्यापार केन्द्रित कार्यक्रम मात्र होइन, सामाजिक उत्तरदायित्वको भावनाले पनि भरिएको छ। प्रत्येक वर्षजस्तै, यसपटक पनि टिकटमार्फत सङ्कलित रकमको केही हिस्सा महिला सशक्तीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण र अन्य सामाजिक अभियानमा उपयोग गरिने आयोजकले जनाएको छ। टिकट दर विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ, त्यस्तै ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि प्रवेश निःशुल्क राखिएको छ।
डिजिटल युगसँग तालमेल मिलाउँदै, यो वर्ष महोत्सवले इसेवासँग साझेदारीमा अनलाइन टिकट प्रणाली सुरु गरेको छ, जसले दर्शकलाई मोबाइलमै टिकट किन्न सजिलो बनाएको छ। यसले प्रदेशमा डिजिटल भुक्तानी प्रवद्र्धनमा पनि जोड दिन्छ। यसपटक महोत्सवलाई सफल बनाउन २३ वटा उपसमिति गठन गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको सक्रिय भूमिकाले महोत्सव अझ संस्थागत र बलियो बनेको आयोजक संघको विश्वास छ। उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मौलिक उत्पादनलाई महोत्सवले प्राथमिकता दिनु यसको सुन्दर पक्ष भएको बताए। ‘यो प्रदेश साँच्चिकै कृषि, जडिबुटी, जलस्रोत र सीमा व्यापर लगायतमा सम्भावनाहरुको खानी हो।’ उनले भने, ‘नेपलाको ठुलो पर्यटन पुर्वाधार कैलालीको चिसापानीदेखि राजकाँडासम्म जोड्ने केबलकार आगामी बैशाख १ गते सम्म सञ्चालन गर्ने तयारी हामीले गरेका छौँ।’ उनले विकासका लागि आन्तिरिक पुँजीको परिचालन गर्न प्रक्रियागत व्यवधानहरु सुधारमा जोड दिनुपर्ने बताए।
स्टलहरूको चहलपहल, कलाकारका प्रस्तुति र स्थानीय उत्पादनको सुगन्ध—यी सबैले महोत्सवलाई विशेष आकर्षक बनाएको छ। महोत्सव केवल प्रदर्शनी वा व्यापारिक मेलामात्र होइन, सुदूरपश्चिम प्रदेशको पहिचान, सम्भावना, संस्कार र सपनाहरू एकै ठाउँमा देखिने खुला क्यानभास हो। सुदूरपश्चिम महोत्सव यस वर्ष पनि पुस २ गतेसम्म निरन्तर सञ्चालन हुनेछ।