धनगढीमा सडक दुर्घटनासम्बन्धी नमूना उद्धार अभ्यास प्रदर्शन
धनगढी: कैलालीको धनगढीमा सडक दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रदर्शनी गरिएको छ ।
आज नेपाली सेना र नेपाल प्रहरीको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हेडक्वाटर कैलालीले दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रदर्शन गरेको हो ।
प्रदर्शनीमा सवारी दुर्घटनापछि जनधनको क्षति कम गर्न पूर्व तयारीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले कृत्रिम अभ्यास गरेका हुन् ।
उद्धार अभ्यासमा मोटसाइकल चालकको त्रुटिका कारण दुई वटा बस एकआपसमा ठोक्किएर दुर्घटना देखाइएको थियो । दुर्घटना पनि घाइतेको उद्धार,ट्राफिक व्यवस्थापन,घटनाको अनुसन्धान लगायतका बारेमा देखाइएको थियो । उद्धार अभ्यासमा दुर्घटनामा सबै सुरक्षा निकायको भूमिका पनि प्रस्तुत गरिएको थियो ।
उद्धार अभ्यासपछि कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले यस्ता नमूना अभ्यास महत्वपूर्ण र समसामयिक हुने बताउँदै यसलाई जनस्तरसम्म प्रचारप्रसार गर्नुपर्ने बताए । उनले दुर्घटनामा सबै सबै सुरक्षा निकायको भूमिका रहने बताउँदै नमूना अभ्यासमा सबैको स्पष्ट भूमिका देखाइएको बताए ।
सशस्त्र प्रहरी बल,नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितले प्राविधिक तथा मानवीय त्रुटिले दुर्घटना हुँदै आएको बताउँदै दुर्घटनापछि क्षति कम गर्ने उदेश्यले पूर्व अभ्यास गरिएको बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले सडक दुर्घटनापछि उद्धारलाई प्रभावकारी बनाउन पूर्व अभ्यासको भूमिका महत्वपूर्ण हुने बताए ।