सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी सेवाबाट मन्त्रिपरिषद्सम्म: श्रममन्त्री भण्डारीको यात्रा

२०८२ मंसिर २७, ०४:०६

बैतडी: बैतडी जिल्ला बेला–बेला प्रधानमन्त्रीदेखि मन्त्रीसम्म पाउँदै आएको जिल्लाका रूपमा परिचित छ। संघीय सरकारमा मात्र होइन, नागरिक सरकारमा समेत प्रतिनिधित्व गराउँदै आएको बैतडीले सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने जिल्लामध्ये महत्वपूर्ण स्थान बनाएको छ। यही क्रमलाई निरन्तरता दिँदै बैतडीमा जन्मिएका राजेन्द्रसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई श्रममन्त्रीका रूपमा नियुक्त गरेकी हुन्। नेपाल प्रहरी सेवाको पृष्ठभूमिबाट आएका भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) हुन्। उनले शुक्रबार मन्त्री पदको शपथ लिएका छन्। उनीसँगै चार जनाले एकैदिन शपथ ग्रहण गरेका हुन्।

नेपाल प्रहरीले गम्भीर तथा संगठित अपराधको अनुसन्धानलाई विशिष्टीकृत बनाउन २०६७ सालमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गठन गरेको थियो। फौजदारी अपराधदेखि वित्तीय अपराधसम्म छुट्टै टिममार्फत अनुसन्धान आवश्यक भएको ठहर गर्दै स्थापना गरिएको उक्त ब्युरोका संस्थापक प्रमुख भण्डारी नै थिए।

भण्डारीले २०६७ साउन १ गतेदेखि २०६८ भदौ ८ गतेसम्म सिआइबी प्रमुखका रूपमा कार्य गरेका थिए। त्यस अवधिमा ब्युरोमार्फत अघि बढाइएका महत्वपूर्ण अनुसन्धान सफल बनाउन उनको भूमिका उल्लेखनीय रहेको थियो। प्रहरी सेवाबाट अवकाशपछि मन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका भण्डारीले अब श्रम तथा सामाजिक सुरक्षाको क्षेत्रमा नेतृत्व गर्ने जिम्मेवारी सम्हालेका छन्।
 

कमेन्ट लोड गर्नुस