चार वर्षमा पनि बनेन जिल्ला अस्पताल दार्चुलाको भवन
खलङ्गा (दार्चुला): जिल्ला सदरमुकाम खलङ्गास्थित गल्फैमा निर्माणाधीन जिल्ला अस्पताल दार्चुलाको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा दिन गम्भीर समस्या देखिएको छ। अस्पतालका अधिकांश सेवालाई सहज बनाउने उद्देश्यले ५० शैय्याको नयाँ भवन निर्माण भइरहेको भए पनि निर्माण कार्य अत्यन्तै सुस्त गतिमा अघि बढेको सरोकारवालाहरूले बताएका छन्।
आर्थिक वर्ष २०७८-७९ को असार २४ गते भवन निर्माणका लागि सम्झौता भएको थियो। तर सम्झौता भएको चार वर्ष बितिसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनी श्याम सुन्दर गोर्खा वाईआर जेभीका प्रतिनिधि तथा इन्जिनियर गोकर्णप्रसाद जोशीका अनुसार हालसम्म भवनको दुई तलाको ढलान सम्पन्न भइसकेको छ भने तेस्रो तलाको सेट्रिङको काम भइरहेको छ। सम्झौता अनुसार २०८२ मङ्सिरसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म करिब ४५ प्रतिशत मात्रै काम भएको उनले जानकारी दिए।
यसअघि भवन अभावका कारण बिरामीले सेवा लिन कठिनाइ भोग्नुपरेको भन्दै नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै सरोकारवालाको ध्यानाकर्षण गराइसक्नु भएको छ। चार तले अस्पताल भवन निर्माणका लागि सङ्घीय सरकारले २४ करोड रुपैयाँ विनियोजन गरेको थियो। २०७० सालमा महाकाली नदीमा आएको बाढीले अस्पतालको जमिन बगाउनुका साथै पुरानो भवनमा क्षति पुगेपछि जमिन अभावकै बीच पुराना संरचना हटाएर नयाँ भवन निर्माण गर्दा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ।
हाल १५ शैय्याको जिल्ला अस्पताल दार्चुलामा दैनिक दुई सयभन्दा बढी सेवाग्राहीले सेवा लिइरहेका छन्। तर भवन नहुँदा अन्तरङ्ग (ईन्डोर) सेवा सञ्चालनमा समस्या भइरहेको अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए। उनका अनुसार प्रसूति सेवा, आईसीयू, भिडियो एक्स–रे तथा अल्ट्रासाउण्ड जस्ता महत्त्वपूर्ण सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको छ।
साँघुरो कोठामा सञ्चालन भइरहेको अन्तरङ्ग सेवाका कारण बिरामीहरूमा संक्रमणजन्य रोग छिटो फैलिने जोखिम बढेको अस्पताल प्रशासनले जनाएको छ। निर्माण कार्य शीघ्र सम्पन्न गरी सेवाको गुणस्तर सुधार गर्न सरोकारवालाहरूले माग गरेका छन्।