नाबालिकाको चरित्रहत्या आरोपमा धनगढीका २७ वर्षीय युवक पक्राउ
धनगढी: नाबालिकाको चरित्रहत्या गरेको आरोपमा कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडा डी गाउँका २७ वर्षीय सन्दीप चन्द पक्राउ परेका छन्।
साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दीपकराज अवस्थीका अनुसार चन्दले सामाजिक सञ्जालमा महिलाको तस्बिर प्रयोग गरी फेक एकाउन्ट बनाएका थिए। ती एकाउन्टमार्फत नाबालिकासँग साथी बनी कुराकानी गर्दै उनले विभिन्न प्रलोभन, दबाब र प्रभाव प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार चन्दले नाबालिकाबाट निजी तस्बिर तथा भिडियो मागी सेभ गरी राखेका थिए। पछि थप गतिविधिमा संलग्न हुन दबाब दिए पनि नाबालिकाले अस्वीकार गरेपछि ती सामग्री पीडितका विद्यालयका साथी तथा आफन्तजनका सामाजिक सञ्जालमा पठाई चरित्रहत्या गरेको आरोप छ।
चन्दलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।