धनगढीको शारदा माविमा पढेका रोशन खड्का एमबिबिएसमा नाम निकाल्न सफल
धनगढी: धनगढी वैयावेहडी स्थित शारदा माध्यमिक विद्यालयमा अध्ययन गरेका कैलालीको गौरिगङ्गाका विद्यार्थी रोशन खड्काले स्नातक तहमा एमबिबिएस अध्ययन गर्न खुला प्रतिस्पर्धाबाट उत्कृष्ट १० औँ स्थान भित्र नाम निकाल्न सफल भएका छन्।
आधारभूत तह गौरिगंगा कै स्थानीय विद्यालयमा पढेका उनले कक्षाा ९ र १० शारदा माध्यमिक विद्यालयमा पढेका थिए । उनले माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा ३.८५ समग्र जिपीए ल्याएर काठमाडौं उपमहानगरको नि:शुल्क छात्रवृत्तिमा काठमाडौं मोडेल कलेजमा ११ र १२ अध्ययन गरेका थिए ।
कक्षा १२ मा पनि ३.९४ समग्र जिपीए ल्याएर उनले हालै महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एमबिबिएस अध्ययनको प्रवेश परिक्षामा उत्कृष्ट १० औँ स्थानमा नाम निकाल्न सफल भएका हुन्। उक्त प्रवेश परिक्षामा १८ हजार १८१ विद्यार्थीहरु सहभागी थिए ।
कठीन यात्रा र मेहनतबाट आफ्नो गाउँ र परिवारको पहिलो डाक्टर बन्ने सपनाको सुखद प्रारम्भ गर्न पाउँदा खुसी लागेको उनले बताएका छन्।