सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको खप्तड छेडेदहमा बाल अधिकार र संरक्षण केन्द्रित बाल कचहरी आयोजना

२०८२ पुष १२, ०३:४७ खबर संवाददाता

बाजुरा: बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बालबालिकाका हक–अधिकार, संरक्षण तथा सामाजिक कुसंस्कारविरुद्ध केन्द्रित बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ।

पीसविनको आयोजनामा, गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा बालबालिकाले आफूले भोग्दै आएका समस्या, गुनासा र अधिकारका विषयमा जनप्रतिनिधि तथा कर्मचारीसँग प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रमको उद्देश्य बालबालिकाका हक–अधिकार सुनिश्चित गर्नुका साथै बालविवाह, बालश्रम, शोषण, दुर्व्यवहार, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित समस्याको पहिचान गरी समाधान खोज्नु रहेको पीसविनद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाका अधिकृत भानसिंह ऐडीले जानकारी दिए। उनका अनुसार गाउँपालिकामा बालबालिकासम्बन्धी नीति, बजेट र कार्यान्वयनको अवस्थाबारे बालबालिकाबाट प्रत्यक्ष प्रतिक्रिया लिइएको छ।

बाल कचहरीमा सहभागी बाल सञ्जालका सदस्यहरूले बालमैत्री विद्यालय वातावरण, निःशुल्क तथा गुणस्तरीय शिक्षा, सेनेटरी प्याडको सहज उपलब्धता र गुणस्तर, फरक क्षमता भएका तथा पिछडिएका बालबालिकाका लागि लक्षित कार्यक्रम, लागू पदार्थ दुर्व्यसन नियन्त्रण, सामाजिक सञ्जालको दुरुपयोग रोकथाम र बाल सहभागिता सुनिश्चित गर्न माग राखेका थिए।

कार्यक्रमका क्रममा बालिका रेजिना खड्काले गाउँपालिकाले हरेक वर्ष बालबालिकाका लागि छुट्याउने बजेटको प्रयोगबारे प्रश्न उठाइन्। जवाफमा प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले पालिका र वडामा विनियोजन भएको बजेट जनचेतना, खेलकुद, सांस्कृतिक कार्यक्रमलगायत गतिविधिमा खर्च हुँदै आएको बताए। उनले आगामी दिनमा बाल केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाए।

त्यसैगरी वडा नम्बर ३ का भुवन रावतले बालविवाह न्यूनीकरणका लागि कार्यक्रम भइरहे पनि व्यवहारमा घटना नघटेको गुनासो गरे। जवाफमा गाउँपालिका उपाध्यक्ष विशुदेवी नाथले बालविवाहविरुद्ध बाल सञ्जाल, जनप्रतिनिधि तथा सरोकारवाला निकायको संयुक्त सक्रियतामा अभियान सञ्चालन भइरहेको बताइन्। उनले वडा नम्बर २ लाई शून्य बालविवाह वडा घोषणा गरिएको उल्लेख गर्दै यस अभियानलाई पालिकाभर विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिइन्।

बालक देवराज बुढाले माध्यमिक तहसम्म निःशुल्क शिक्षा भनिए पनि शुल्क तिर्नुपरेको र विज्ञान प्रयोगशालाका सामग्री प्रयोग गर्न नपाएको गुनासो राखे। शिक्षा शाखा प्रमुख प्रेम साउँदले सबै विद्यालयमा विज्ञान प्रयोगशालाका सामग्री उपलब्ध गराइएको तर भौतिक पूर्वाधार अभावका कारण प्रयोगमा आउन नसकेको हुन सक्ने बताए। उनले विद्यालयमा शुल्क लिने विषयबारे थप अनुगमन गरिने प्रतिवद्धता व्यक्त गरे।

बाल कचहरीमा बालबालिकाका सवाल, समस्या र कानुनी अधिकारका विषयमा पत्रकार टेकबहादुर बुढाले सहजीकरण गरेका थिए। गाउँपालिका उपाध्यक्ष विशुदेवी नाथको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशी, शिक्षा शाखा प्रमुख प्रेम साउँद, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी जोशी, पीसविन र गुड नेवर्स इन्टरनेसनल नेपालका प्रतिनिधि, सञ्चारकर्मी तथा पालिका तथा वडा स्तरीय बाल सञ्जालका पदाधिकारी र बालबालिकाहरूको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस