सुदूर नेपाललाई विश्वसँग जोड्दै

असहज परिस्थितिमा मुलुकलाई निकास दिने पार्टी नेपाली कांग्रेस हो: मुख्यमन्त्री शाह

२०८२ पुष १३, ०१:४१ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले देशले सामना गरिरहेका असहज परिस्थितिमा नेतृत्व गर्दै मुलुकलाई निकास दिने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको बताए।

शनिबार आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर २ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहले नेपाली कांग्रेसविरुद्ध विभिन्न अफवाह फैलाइएको उल्लेख गर्दै ती सबै निराधार भएको स्पष्ट पारे। उनले भने, “आम जनता अझै पनि नेपाली कांग्रेसकै पक्षमा छन्।”

संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि नेपाली कांग्रेस जुनसुकै प्रकारको समर्पण गर्न तयार रहेको उनको भनाइ छ। नेपाली कांग्रेस वैचारिक पार्टी भएकाले पार्टीभित्र वैचारिक मतभिन्नता स्वाभाविक भए पनि कांग्रेस आफ्ना सिद्धान्तप्रति स्पष्ट र प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहले जिकिर गरे।

उनले लोकतन्त्र, गणतन्त्र र संविधानप्रति नेपाली कांग्रेस दृढ रहेको धारणा राखे। साथै अर्को महाधिवेशन नहुँदासम्म पार्टीको नेतृत्व सभापति शेरबहादुर देउवाले नै गर्ने बताउँदै उपसभापति, महामन्त्री तथा केन्द्रीय सदस्यहरूलाई समन्वय गर्दै अघि बढ्ने क्षमता सभापति देउवामा रहेको उल्लेख गरे।

मुख्यमन्त्री शाहले पार्टीको आगामी महाधिवेशनका लागि आवश्यक कार्यक्रमहरू तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने स्पष्ट पारे।

स्वास्थ्य समस्याका बाबजुद मुख्यमन्त्री शाह वाकरको सहारामा कार्यक्रममा सहभागी भएका थियो। कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

कमेन्ट लोड गर्नुस