बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको मृत्यु
धनगढीः बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेसनल पार्कमा घाँस–दाउरा लिन गएकी वृद्धाको बाघले ज्यान लिएको हो। मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ की ७० वर्षीया सुना निरौला रहेको प्रहरीले जानकारी दिएको छ। पुनर्वास नगरपालिका–६ स्थित आजाद नगरनजिककै जङ्गलमा बाघले आक्रमण गरेर वृद्धाको ज्यान लिएको जनाइएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज लोकेन्द्रसिंह कार्कीका अनुसार शनिबार घाँस–दाउरा लिन जङ्गल गएकी वृद्धा साँझसम्म नफर्किएपछि स्थानीयसहित प्रहरी, आफन्तले खोजतलास गरेका थिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेत खोजीकार्य गर्ने क्रममा आइतबार जङ्गलमा वृद्धाको शव भेटिएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। केही वर्ष अगाडि पनि दुधुवा नेसनल पार्कमा घाँस काट्न गएकी पुनर्वास नगरपालिकाकी एक महिलाको बाघले ज्यान लिएको थियो।