अत्यधिक जाडोले कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित
धनगढी: कैलाली र कञ्चनपुरमा पुस १ गतेदेखि हुस्सु लागेको छ। निरन्तर हुस्सु लाग्नाले तराईका दुई जिल्लाको जनजीवन प्रभावित भएको छ। लामो समयदेखि घाम नलाग्नाले कैलाली र कञ्चनपुरमा अत्याधुनिक जाडो बढेको छ। जसले गर्दा बालबालिका, बिरामी र जेष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्।
लगातार हुस्सु लाग्नाले न्यून आय भएका परिवारमा जाडोले समस्या खडा गरेको छ। दैनिक मजदुरी गर्ने वर्ग चिसोबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
कैलालीको गोदावरी-५ मुक्तकमैया, कत्था टोल शिविरका मुक्तकमैया बस्तीका ३५ परिवार जाडोबाट प्रभावित भएका छन्। दैनिक ज्याला मजदुरी गर्ने उनीहरूमध्ये धेरैजसो अत्यधिक जाडो बढ्नाले काम गर्न जान सकेका छैनन्।
स्थानीय ममतादेवी डगौराको घरमा ६५ वर्षीया सासुसहित ४ जना सदस्य छन्। ममतादेवीका श्रीमान काममा गए पनि ममतादेवीले भने जाडो बढेकाले काममा जान नसकेको बताइन्। उनले आगो ताप्नसमेत दाउरा नभएको बताइन्। सामुदायिक वनको सदस्य नभएकाले मुक्तकमैया टोलमा वन समूहले दाउरा नदिएको उनले बताइन्।
सोही टोलमा बस्ने टीकाराम डगौराको ५ जनाको परिवार छ। दैनिक मजदुर गर्ने उनको परिवारमा पनि आगो ताप्न दाउरा छैन। जाडो बढेकाले काममा जान समेत समस्या भएको उनले बताए।
कल्पना चौधरीको परिवारमा चार जना सदस्य छन्। उनका श्रीमान पतिराम भने मजदुरी गर्न गएका थिए। राज मिस्त्री काम गर्ने श्रीमान काममा गए पनि जाडोको कारण आफू केही दिनदेखि काममा जान नसकेको कल्पनाले बताइन्। "म पनि श्रीमानसँगै काम गर्न जान्छु तर केही दिनदेखि जाडो बढेकाले जान सकेकी छैन। टोलका महिला जाडो बढ्नाले काममा जान सकेका छैनन्," उनले भनिन्।
मुक्तकमैया टोलकै जगनी चौधरीको २० जनाको परिवार छ। उनले घरमा तीन छोराबुहारी र १२ नातिनातिना, बुढा र आफू रहेको बताइन्। छोराहरू र बुढा काममा गएका भए पनि जाडो बढ्नाले समस्या भएको बताइन्। आगो बालेर ताप्न दाउरा नभएकाले झन समस्या भएको उनले बताइन्।
यस्तै, टीकापुर-१ का राजन बोगटीले टीकापुर क्षेत्रमा जाडोका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको बताए। उनले विपन्न परिवारमा जाडोको कारण समस्या थपिएको बताएका छन्।
घोडाघोडीका सिताराम डगौराले जाडोको कारण काम गर्न समस्या भएको बताए। उनले सामुदायिक वनले दाउरा वितरण गरेकाले आगो तापेर बस्न भने सहज भएको बताएका छन्।
कञ्चनपुरको दोधारा चाँदनी-१ का स्थानीय गङ्गादत्त अवस्थीले अत्यधिक जाडोले जनजीवन निकै प्रभावित भएको बताए। उनले बालबालिका, बिरामी, जेष्ठ नागरिक र पशु चौपाया जाडोबाट बढी प्रभावित भएको बताए। "दोधारा चाँदनी क्षेत्रमा पनि निकै धेरै जाडो बढेको छ। बालबालिका, बिरामी र वृद्धवृद्धा र चौपाया बढी समस्यामा छन्," उनले भने, "जाडो बढेका कारण वडा कार्यालयले आगो ताप्न चोक चोकमा दाउरा वितरण गरेको बताए।
जाडोले सर्वसाधारणको जीवन प्रभावित भएको भीमदत्त-४ का वासुदेव जोशीले बताए। चिसोका कारण बजार क्षेत्रमा सर्वसाधारणले दाउरा किनेर चोक चोकमा आगो ताप्नु परेको उनले बताए।
अत्यधिक जाडो बढेकाले न्यानो लुगा लगाउन, तातो र झोलिलो खाने कुरा खान चिकित्सकले सल्लाह दिएका छन्। चिसोमा साइकल, मोटरसाइकलको लामो यात्रा नगर्न र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन चिकित्सकले सल्लाह दिएका छन्।
डडेल्धुरा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर हेमा जोशीले जाडोबाट बच्न भनेर मदिरा सेवन नगर्न सुझाव दिएकी छन्। उनले झोलिलो खानेकुरा खान, न्यानो लुगा लगाउन र साइकल र मोटरसाइकलबाट लामो दुरीको यात्रा नगर्न सुझाव दिएकी छन्।