सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा स्थानीयद्वारा डीडीसी र वडा कार्यालयमा तालाबन्दी

२०८२ पुष १४, ०४:०० खबर संवाददाता

अत्तरिया: कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्न थालिएको विरोधमा स्थानीयले डीडीसी अत्तरिया र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

डीडीसी अत्तरियाबाट सार्न नहुने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका स्थानीयले एकाएक डीडीसीमा जडान भएका उपकरण सार्न थालिएपछि विरोध जनाउँदै काम रोकेका हुन्। स्थानीयले उपकरण सार्न ल्याइएका क्रेन र ट्रकसमेत फिर्ता पठाएका छन्।

स्थानीय तारा देवी महराले विगत एक वर्षदेखि डीडीसी अत्तरियाबाट नसराओस् भन्दै संघर्ष गर्दै आएको भए पनि जानकारी नै नदिई रातारात सार्ने काम सुरु गरिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताइन्। उनले डीडीसीको उत्पादन कक्षमै तालाबन्दी गरिएको जानकारी दिइन्।

त्यस्तै स्थानीय गीता चौधरीले डीडीसीको कार्यालय रातारात सारिएको र उद्योगका सामग्रीसमेत सार्न थालिएको थाहा पाएपछि विरोधमा उत्रिनुपरेको बताइन्। डीडीसी विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन र संस्थानलाई अत्तरियामै रोक्न वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेको आरोप लगाउँदै स्थानीयले वडा नम्बर १ को कार्यालयमा पनि तालाबन्दी गरेका हुन्।

वडा अध्यक्ष गोपाल दत्त भट्टले डीडीसी अत्तरियाबाट नसरोस् भन्ने आफूहरूको पनि चाहना रहेको बताउँदै आन्दोलनप्रति ऐक्यबद्धता जनाए। उनले डीडीसीको दोहोरो चरित्रका कारण विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन नसकिएको बताए। आवश्यक कागजात पठाइसक्दा पनि कुनै प्रतिक्रिया नदिई अहिले सार्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

उनका अनुसार डीडीसीका महाप्रबन्धकले ४० लाख रुपैयाँ र १० बिगाहा जग्गा तत्काल उपलब्ध गराउन माग गर्दै नसकिए सार्ने चेतावनी दिएका थिए। ‘तत्काल सम्भव नहुँदा कसैलाई जानकारी नै नदिई अहिले सार्न थालिएको छ,’ उनले भने, ‘अहिले अचानक किन यति धेरै रकम र जग्गा आवश्यक प¥यो?’

गत वर्ष पुस महिनामै डीडीसी धनगढी सार्ने प्रक्रिया अघि बढेपछि स्थानीयको विरोध चर्किएको थियो। त्यसक्रममा गोदावरी नगरपालिका–१ का वडाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गरी डीडीसीका लागि आवश्यक जग्गा गोदावरीमै उपलब्ध गराउने प्रतिबद्धता समेत गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस