आउँदो चुनावमा गरिबी घटाउने रोडम्याप बिना भोट नदिनुहोस्: मेयर गोपाल हमाल
धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अब आउने निर्वाचनमा दल र नेताहरूसँग सुदूरपश्चिमको गरिबी घटाउने स्पष्ट रोडम्याप मागेर मात्रै योग्य पात्र छनोट गर्न आग्रह गरेका छन्। पुस १५ तथा तमु ल्होसारको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले सुदूरपश्चिममा गरिबी झनै बढ्दै जानु दुःखद र चिन्ताजनक रहेको बताएका हुन्।
मेयर हमालका अनुसार राजनीतिक रूपमा धेरै परिवर्तन भए पनि सुदूरपश्चिमको विकासको गति अहिलेसम्म पनि दयालाग्दो अवस्थामा छ। उनले तथ्यांक प्रस्तुत गर्दै भने, 'सन् २०१९ मा कर्णाली प्रदेशमा गरिबीको दर ३९ दशमलव ५० प्रतिशत थियो। अहिले उसले घटाएर २६ दशमलव ६९ प्रतिशतमा झारेको छ। तर त्यही समयमा २५ दशमलव ३० प्रतिशत गरिबी रहेको सुदूरपश्चिममा अहिले बढेर ३४ दशमलव १६ प्रतिशत पुगेको छ।'
सुदूरपश्चिमभन्दा गरिब मानिएको कर्णालीले गरिबी घटाउन सफल हुनु र सुदूरपश्चिममा उल्टै गरिबी बढ्नु अत्यन्तै चिन्ताको विषय भएको मेयर हमालको भनाइ छ। 'कर्णालीले गरिबी घटायो, सुदूरपश्चिमको किन बढ्यो? यसको जवाफ हामी सबैले खोज्नुपर्छ,' उनले भने।
मेयर हमालले पुस १५ लाई आधार मानेर दल र नेताहरूसँग गरिबी हटाउने योजनाबारे प्रश्न, छलफल र बहस सुरु हुनुपर्नेमा जोड दिएका छन्। उनले भोट माग्न आउने नेताहरूसँग गरिबी घटाउने ठोस योजना र कार्यान्वयनयोग्य रोडम्याप माग्नुपर्ने बताएका छन्।
उनका अनुसार सुदूरपश्चिमप्रति माया गर्ने हरेक नागरिकले अब चिया पसल, चौतारो र चोक–चोकमा हुने छलफलमा गरिबीको विषयलाई प्राथमिकता दिनुपर्छ। 'गरिबी घटाउने स्पष्ट प्लान दिनसक्ने दल र उम्मेदवारलाई मात्रै भोट दिने मनस्थिति बनाउनुपर्छ, उनले जोड दिएका छन्।
मेयर हमालले अन्त्यमा सुदूरपश्चिमको भविष्य सुरक्षित गर्न उपयुक्त योजना र रोडम्याप बोकेका नेता र दल छनोट गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता भएको स्पष्ट पारेका छन्।
नगर प्रमुख हमालले पुस १५ मा दल तथा नेताहरूसँग गरिबी हटाउने बारे सोधिने प्रश्न बारे छलफल र बहसको थालनी हुनुपर्ने बताएका छन्। मेयर हमालले दल तथा भोट माग्न आउने नेताहरूसँग विद्यमान गरिबी हटाउन रोडम्याम माग्नुपर्ने बताएका छन्। गरिबी घटाउने प्लान मागेर नेता र दलहरूलाई भोट दिने मनस्थिति निर्माण हुनुपर्नेमा मेयर हमालले जोड दिएका छन्।