सुदूर नेपाललाई विश्वसँग जोड्दै

१७औँ अन्तरराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल उपविजेता

२०८२ पुष १६, ०३:३४ खबर संवाददाता

काठमाडौँ: सार्क मुलुकका खेलाडीहरूको सहभागितामा भारतको पुनेमा सम्पन्न १७औँ अन्तरराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ।

अघिल्लो संस्करणमा सबैभन्दा धेरै पदक जितेको नेपालले यसपटक १८ स्वर्ण, दुई रजत र सात कास्यसहित कुल २७ पदक जित्दै उपविजेता स्थान सुरक्षित गरेको हो। प्रतियोगितामा नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहका ११ महिला खेलाडीसहित २२ खेलाडी सहभागी थिए।

नेपाली टोलीको अफिसियलका रूपमा वसन्त रोका क्षेत्री, गिरी पुन र मिलन गाहाले जिम्मेवारी निर्वाह गरेका थिए भने टोलीको प्रतिनिधित्व सियानकाजी रानाले गर्नुभएको थियो। सार्कस्तरीय यस प्रतियोगितामा कुल ४७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

समापन समारोहमा गोजुरियो कराते नेपालका प्रमुख प्रशिक्षक काजी रानाले यस्ता क्षेत्रीय तथा अन्तरराष्ट्रिय प्रतियोगिताले सहभागी राष्ट्रहरूबीच आपसी भाइचारा, मित्रता र खेलकुद कूटनीति सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

विजेता खेलाडीहरूलाई महाराष्ट्र ओलम्पिक सङ्घका उपाध्यक्ष मनोज बोहरेले पदक प्रदान गरेका थिए। प्रतियोगितामा भारतले २२ स्वर्ण, १० रजत र पाँच कास्यसहित ३७ पदक जित्दै पहिलो स्थान हासिल गरेको छ भने श्रीलङ्का तेस्रो भएको छ।

दुई दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, भुटान र बङ्गलादेशका खेलाडीहरूको सहभागिता रहेको थियो। जापान कराते–डो नाबुकाह शितेरियो करातेको आयोजना तथा महाराष्ट्रका क्योसीन कराते अभियन्ता राजु थापाको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो।
 

कमेन्ट लोड गर्नुस