सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिप तथा रोजगार मेला, यो वर्ष ६ सय जनालाई तालिम दिइने

२०८२ पुष २५, ०२:२८ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ सय युवालाई सिप तथा रोजगार तालिम दिने भएको छ। माघ ५ गतेबाट सुरू हुने सिप तथा रोजगार मेलामा युवा-युवतीले विभिन्न २२ वटा विधामा एक महिनासम्म तालिम तथा थप दश दिनको परामर्श सम्बन्धी तालिम प्राप्त गर्ने छन्।

गत वर्षदखि धनगढी उपमहानगरपालिकाले सिप तथा रोजगार मेला आयोजना गर्न लागेको हो। गत वर्ष झन्डै ११ सय जना युवाले विभिन्न २९ विधाको एक महिने तालिम लिएका थिए। तालिम पश्चात् उनीहरूको सिप परीक्षण गरी रोजगारदाताकै उपस्थितिमा परामर्श कार्याशाला आयोजना भएको थियो।

गत वर्ष प्रदेशका ९ वटै जिल्लाका ३९ स्थानीय तहबाट एक हजार ४० जनालाई विभिन्न विधामा तालिम प्रदान गरिएको उपमहानरपालिकाले जनाएको छ।

गत वर्ष ३० दिन विभिन्न विधामा सिपमूलक तालिम, ५ दिनसम्म जीवन उपयोगी र उद्यमशीलता विकास सम्बन्धी तालिम तथा २ दिन रोजगारदाता र तालिमप्राप्त युवाबीच अन्तक्रिया गरिएको उपमहानगरले जनाएको छ। यो वर्ष धनगढीमा आगामी माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने भएको छ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा माघ ५ गतेदेखि ३० दिन सीप विकास तालिम र बाँकी १० दिन परामर्श सम्बन्धी कार्यशाला तथा रोजगार मेला सञ्चालन हुने सिप तथा रोजगार मेलाका संयोजक योगेन्द्र चन्दले बताए।

उनले मंसिर १५ देखि आवेदन संकलन गरिएको र करिब चार हजार जनाको आवेदन परेको बताएका छन्। आवेदन दिएका मध्ये ६ सय जनालाई मात्रै तालिम दिन सकिने चन्दले बताएका छन्।

रोजगार मेलामा अटोमोबाइल मर्मत, डिजिटल मार्केटिङ, फेटोग्राफी तथा ड्रोन सञ्चालन, हस्पिटालिटी अन्तर्गत वेटर/वेट्रेस, वेकरी, कफी बारिस्टा बनाउने, फास्टफुड/कुक,  शैक्षिक सर्भिस अन्तर्गत पुरोहित, लेखा व्यवस्थापन, इसिडी सहजकर्ता, एडभान्स व्युटीसियन, हेयर कटिङ, आर्ट/क्राफ्ट डिजाइनिङ अन्तर्गत बेतबाँस हस्तकला, साँस्कृतिक पोशाक, बुटिक तथा कढाई, निर्माण सर्भिसअन्तर्गत प्लम्विङ, फर्निचर, विल्डिङ वाइरिङ, वेल्डिङ र मेकानिकल अन्तर्गत एसी तथा फ्रिज मर्मत र मोबाइल तथा सिसिटिभी मर्मत गरी सात ओटा क्षेत्रका २२ ओटा विषयमा तालिम सञ्चालन हुने सिप तथा रोजगार मेलाका संयोजक चन्दले बताए। उनले सांस्कृतिक पोसाक निर्माणतर्फ भने ७५ जनालाई तालिम दिइने बताए।

तलिममा सहभागी हुन इच्छुक युवाहरूको अनलाइन र हार्डकपी आवेदन दिएका छन्। आवेदकहरुमध्ये छनोट प्रक्रिया कार्यविधि अनुसार छनोट गरेर तालिममा सहभागी गराइनेछ।

उपमहानगरले गत आर्थिक वर्षमा पनि  सिप तथा रोजगार मेला सञ्चालन गरेको थियो। जसमा एक हजार ४० जनालाई ८ ओटा क्षेत्रको २९ ओटा विषयमा  तालिम दिइएको थियो। ती तालिम लिएका प्रशिक्षार्थीहरुमध्ये ४७ प्रतिशतले रोजगारी पाएका छन्। जसअन्तर्गत २ सय २६ जना विभिन्न संस्था वा निकायमा  रोजगारीमा संलग्न भएको र १७२ जना स्वरोजगरीमा संलग्न भएको उपमहानगरपालिकाको तथ्याङ्क छ।

तलिम लिएका मध्ये २७ जनालाई थप तालिम र सिप विकासका लागि काठमाण्डौँ र वुटवल पठाइएको बताइएको छ। रोजगार मेला धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित खुला मञ्चमा माघ ५ गतेदेखि आयोजना हुने छ।  


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस