बैतडीको दशरथचन्दमा लैङ्गिक समानताका लागि चेतनामूलक कार्यक्रम
बैतडी: लैङ्गिक समानता कायम गर्न बैतडीको दशरथचन्द नगरपालिकाले चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। लैङ्गिक समानता कायम गराउन भएका कानुनी व्यवस्था, लैङ्गिक सहभागिता र लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायका बुद्धिजीवी, अगुवाहरुसँग छलफल तथा अन्तरक्रियाको आयोजना गरिएको दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताए।
समानता कायम गर्नकै लागि नगरका सबै वडामा यो कार्यक्रम सञ्चालन गरिएको हो। समुदायका धार्मिक अगुवा, शिक्षक, बुद्धिजीवी सबैलाई एकै ठाउँमा राखेर लैङ्गिक समानताका विषयमा छलफल गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताए। उनले भने, “समानताका लागि घरबाटै सुरुवात गर्नुपर्ने भएकाले हामीहरुले सचेतनामूलक कार्यक्रममा जोड दिएका छौँ। कानुनी व्यवस्था र हाम्रो व्यावहारिक अभ्यासका विषयमा छलफल गरेका छौँ।”
विगतको तुलनामा पछिल्लो समयमा हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गएको र यसले लैङ्गिक समानता कायम गर्न सहयोग पुगेको स्थानीय बेलु क्षेत्रीले बताउनुभयो । यस्ता खालका जनचेतनामूलक कार्यक्रम अझै विस्तार हुनुपर्नेमा जोड दिइएको छ।
लैङ्गिक समानताका लागि वडास्तरबाटै विभिन्न प्रयासहरु भइरहेका दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताउनुभयो । उपभोक्ता समिति गठनदेखि अन्य स्थानमा पछिल्लो समयमा महिला सहभागिता बढ्दै गएको उहाँले धारणा व्यक्त गरे।