सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली सन्धि : भ्रम र वास्तविकता पुस्तक लोकार्पित

२०८२ पुष २७, ०२:५२ खबर संवाददाता

कञ्चनपुरः पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले 'महाकाली सन्धि भ्रम र वास्तविकता' पुस्तकको विमोचन गरेका छन्। 

पार्टीकोे केन्द्रीय कमिटी बैठकको क्रममा अध्यक्ष ओलीले शनिबार पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा महाकालीका विषयमा हालसम्म गरिएका सन्धिहरू समेत राखेर विश्लेषण गरिएको छ। नेकपा (एमाले) कञ्चनपुरका सचिव पल्लवराज भट्टले लेखेको 'महाकाली सन्धि भ्रम र वास्तविकता' पुस्तकको विमोचन गर्दै अध्यक्ष ओलीले महाकाली सन्धिको विषयमा भ्रममा नपर्न र यस पुस्तकलाई सबैले अध्ययन गर्न जरुरी रहेको बताए। 

पुस्तकमा हालसम्म भएका महाकाली नदीका तीनवटा सन्धिलाई नेपालीमा अनुवाद गरिएको छ। महाकाली बेचिएको, राष्ट्रघाती गरिएको भन्ने भ्रमलाई चिर्न सन्धिको यर्थातता उल्लेख गरिएको छ। 

साथै, पुस्तकमा महाकाली सन्धिमा भएका व्यवस्था ठिक बेठिकबारे खोजी गर्नेभन्दा पनि सन्धिमा हस्ताक्षर गर्ने सांसद र पार्टीहरूलाई दोषारोपण गर्ने गरिएकाले सन्धिमा भएका व्यवस्था र यसका प्रभावबारे वस्तुनिष्ठ विश्लेषण प्रस्तुत गर्ने प्रयास गरिएको पुस्तकका लेखक भट्टले बताए। 

पुस्तकमा महाकाली नदीको परिचय, भएका सन्धि सम्झौता र मानिसबिचमा छरिएको भ्रमको वास्तविक जानकारी र महाकाली नदीको इतिहास खोजबिन गरी समावेश गरिएको छ।

कमेन्ट लोड गर्नुस