सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा नेता भीम रावलको नाम तीन निर्वाचन क्षेत्रबाट सिफारिस

२०८२ पुष २८, ०१:४४ खबर संवाददाता

धनगढी: नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ। सिफारिस सूची हेर्दा अधिकांश निर्वाचन क्षेत्रमा एकै सिटका लागि धेरै नेताहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

कैलाली, कञ्चनपुर, अछाम र डोटी लगायतका जिल्लामा उम्मेदवार बन्ने आकांक्षीको लामो सूची रहँदा बाजुराबाट भने प्रकाश शाहको नाम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयबाट जारी विशेष सर्कुलरअनुसार जिल्ला कमिटीहरूले बैठक बसेर उम्मेदवारको नाम टुङ्गो लगाएका हुन्। अन्य जिल्लामा सहमति जुट्न नसकेपछि सबै आकांक्षीको नाम केन्द्रमा पठाइएको भए पनि बाजुरामा पार्टीभित्रको गुटबन्दी व्यवस्थापन गर्दै शाहलाई निर्विकल्प नेताका रूपमा स्वीकार गरिएको जनाइएको छ।

अन्य जिल्लामा भने पार्टीका शीर्ष नेताहरू नै टिकटका लागि आन्तरिक प्रतिस्पर्धामा छन्। एमालेका पूर्वउपाध्यक्ष डा। भीम रावलको नाम अछाम क्षेत्र नं १, कैलाली क्षेत्र नं २ र क्षेत्र नं ५ गरी तीन निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ। यस्तै सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट डोटी र कैलाली क्षेत्र नं ५ बाट सिफारिस भएका छन्।

कैलालीका पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवार आकांक्षीको लर्को देखिएको छ। क्षेत्र नं १ मा ८ जना, क्षेत्र नं २ मा ६ जना, क्षेत्र नं ३ मा ८ जना, क्षेत्र नं ४ मा ९ जना र क्षेत्र नं ५ मा ११ जनाको नाम सिफारिस गरिएको छ। अछामका दुवै क्षेत्रमा पनि क्रमशः ९ र १० जना आकांक्षी सिफारिसमा परेका छन्।

कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा ५ देखि ८ जनासम्म आकांक्षी रहेका छन् भने डोटीबाट ८ जना, डडेल्धुराबाट ४ जना, बैतडीबाट २ जना र दार्चुलाबाट ५ जनाको नाम सिफारिस भएको छ।

कैलाली र अछामजस्ता जिल्लामा देखिएको उम्मेदवार आकांक्षीहरूको अत्यधिक भिडले केन्द्रलाई अन्तिम उम्मेदवार छनोट गर्न चुनौतीपूर्ण हुने देखिएको छ।
 

कमेन्ट लोड गर्नुस