बैतडी जिप दुर्घटनका तीनै मृतकको परिचय खुलासा
बैतडीः बैतडीमा जिप दुर्घटना परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ। आज बिहान भएको जिप दुर्घटनामा परी सिगास गाउँपालिका –१ का २४ निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका –३ का १३ बर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो।
जिप आँफै अनियन्त्रित भएर सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरी निरीक्षक सिंहले बताए। जिपमा सवार अन्य सबै घाइते रहेका र घाइतेहरुको संख्या पनि एकीन हुन बाँकी रहेको बताइएको छ। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।