काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा, चुनाव लड्ने तयारी
काठमाडौँ: काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।
पाण्डेले माघ ३ गतेसम्म आफू पदमा बहाल रहने र त्यसपछि औपचारिक रूपमा राजीनामा कार्यान्वयन हुने बताए। ‘माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको हुँ, ३ गतेसम्म जिम्मेवारीमा रहनेछु,’ उनले भने।
राजीनामापछि पाण्डे सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ। उनी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन्। सोही कारण उनले सरकारी जिम्मेवारीबाट अलग हुने निर्णय गरेको स्रोतले जनाएको छ।
महानगर प्रहरी बलको नेतृत्व सम्हाल्दै आएका पाण्डेले शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा नगर सुरक्षा सम्बन्धी विभिन्न काममा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनको राजीनामापछि महानगर प्रहरी बलको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा महानगरपालिकाले औपचारिक निर्णय गर्न बाँकी रहेको छ।