सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आयोगको निर्णय सबैले स्विकार्नु पर्छ: गगन थापा

२०८२ माघ ३, ०१:१३ खबर संवाददाता

काठमाडौं: विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगका निर्णयलाई सबैले स्वीकार गरी पार्टी एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। नवनिर्वाचित केन्द्रीय समिति बैठकअघि आज पत्रकारसँग कुरा गर्दै उनले भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनमा सहभागी भए वा नभए पनि अब त्यो अध्याय समाप्त भइसकेको र पार्टी अगाडि बढिरहेको स्पष्ट पारे।

सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको संरक्षकको भूमिकामा रहेर सबै नेता–कार्यकर्तालाई एकतामा फर्कन सन्देश दिनुपर्ने बताए। “निर्वाचन आयोगका निर्णयलाई सबैले एउटै ठाउँमा बसेर कार्यान्वयन गर्नुपर्छ। पार्टीका सबै एक ठाउँमा जुट्नुपर्छ। निवर्तमान सभापति शेरबहादुर देउवाले अब रोक्कियो, सकियो भनेर देशभरका साथीलाई आह्वान गर्नुपर्छ,” उनले भने।

उनले शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर थापाले पनि त्यही भूमिका निर्वाह गर्दै पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे। पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

थापाले कांग्रेसका स्थापनाकालीन मूल्य–मान्यतालाई जोगाउँदै पुराना र युवापुस्तालाई समेटेर पार्टीलाई नयाँ ढंगले अघि बढाइने बताए। उनले एक–दुई दिनभित्र सबै विषय टुंग्याइने उल्लेख गर्दै ६ गते प्रतिनिधिसभा उम्मेदवारको मनोनयनको समय रहेकाले समयको दबाब रहेको पनि बताए।
 

कमेन्ट लोड गर्नुस