भावी सरकारमा मिडियाकर्मीको प्रतिनिधित्व आवश्यक: सञ्चारमन्त्री खरेल
पाटन: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशको आयोजनामा ललितपुरको महालक्ष्मीस्थानमा आज सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री खरेलले सञ्चारकर्मीहरू हरेक क्षेत्रमा निपुण रहेकाले अब बन्ने सरकारमा उनीहरूको सहभागिता आवश्यक रहेको बताए।
पत्रकारहरूले देश, समाज र राजनीतिका विषयमा गहिरो ज्ञान राख्ने भएकाले राज्य सञ्चालनमा उनीहरूको भूमिका प्रभावकारी हुनसक्ने मन्त्री खरेलको भनाइ थियो। उनले आफू २५ वर्ष पत्रकारितामा संलग्न भई जेनजी आन्दोलनको बलमा मन्त्री बनेको उल्लेख गर्दै राजनीति पेशागत राजनीतिज्ञले मात्र गर्नुपर्छ भन्ने धारणा परिवर्तन भएको बताए। जेनजी जनआन्दोलनले पत्रकारितालाई दिएको सम्मानकै कारण आफू मन्त्री बन्न सफल भएको र देशका १४ हजारभन्दा बढी पत्रकारमध्ये धेरैमा राष्ट्र नेतृत्व गर्ने क्षमता रहेको उनले बताए।
मन्त्री खरेलले जेनजी आन्दोलनको समर्थनमा गठन भएको वर्तमान सरकारले चार महिनामा जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन समाजका हरेक वर्गको सहयोग आवश्यक रहेको बताए।
“हामी सबै निर्वाचनमा होमिँदैछौँ। यसलाई सफल पार्न पत्रकारिता क्षेत्रबाट अझ सशक्त भूमिकाको अपेक्षा गरेका छौँ,” उनले भने।
उनले जेनजी आन्दोलनको मर्म परिवर्तन भएको दोहोर्याउँदै आम निर्वाचनलाई सफल बनाउन समाजका सबै क्षेत्रबाट सक्रिय भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारको हकहित संरक्षणका लागि महासङ्घ सक्रिय रहेको बताइन्। साथै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षामा पनि महासङ्घ निरन्तर क्रियाशील रहेको उनको भनाइ थियो।
त्यसैगरी चलचित्र पत्रकार सङ्घका अध्यक्ष बैकुण्ठराज पराजुलीले मूलधारका मिडियामा कार्यरत श्रमजीवी पत्रकारको हकहितका लागि सबै पत्रकार एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।