काँग्रेस सुदूरपश्चिम संसदीय दल देउवा पक्षमै अडिग, आयोगको निर्णयपछि अन्योल बढ्दो
धनगढीः शुक्रवार निर्वाचन आयोगबाट नेपाली काँग्रेसको आधिकारिकताको टुङ्गो लाग्नुभन्दा अगाडि काँग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक बसेको थियो। बैठकमा सबै सांसद उपस्थित नभए पनि देउवा पक्षमै अडिग रहने निर्णय भएको थियो।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगन थापालाई काँग्रेस सभापति मानेको छ भने सुदूरपश्चिम प्रदेश काँग्रेस संसदीय दलले शेरबहादुर देउवाकै पक्षमा रहने निर्णय गरेको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएसँगै सुदूरपश्चिममा काँग्रेस सांसदहरू अब आयोगको निर्णयअनुसार गगन थापालाई सभापति स्वीकार गर्छन् कि देउवाप्रति नै प्रतिबद्ध रहन्छन् भन्ने प्रश्न उठेको छ। हालसम्म संसदीय दलका अधिकांश सदस्य देउवाकै पक्षमा अडिग देखिएका छन्।
प्रदेश सभा सदस्य रक्षा महराले सामाजिक सञ्जालमार्फत पनि देउवाप्रति आफ्नो समर्थन जनाएकी छन् भने प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले पनि देउवाकै पक्षमा आफूहरू रहेको स्पष्ट पारेका छन्। उनले आधिरकारिकताको विवाद सर्वोच्च अदालतबाट टुङ्गो लागेपछि उक्त निर्णय मान्ने बताएका छन्। सर्वोच्च अदालतबाट पनि विशेष महाधिवेशन पक्षधरले नै आधिकारिकता पाए उक्त निर्णय मन्न सकिने धामीको आशय छ।
सुदूरपश्चिम प्रदेश सभामा काँग्रेसका १८ सांसद छन्। हालसम्म गगन थापा र विश्वप्रकाश शर्मा निकट सांसदहरू खुलेर देखिएका छैनन्। शेखर समूहका दिवानसिंह विष्ट र जुना दानी रहेका छन् भने बाँकी १६ जना सांसद देउवा पक्षका हुन्।
शुक्रवार बसेको संसदीय दलको बैठकमा भने ११ जना सांसदको उपस्थिति रहेको प्रमुख सचेतक धामीले बताए। उनीहरू मध्ये देवानसिंह विष्टले भने देउवा पक्षमा भन्दा पनि आफू काँग्रेसको पक्षमा उभिने बताएका छन्। उनले भने, 'संसदीय दलको बैठकमा सबै जना उपस्थित हुनु भएको थिएन। प्रदेशका १६ जना संस्थापन पक्षका हुन् भने जुना दानी र म संस्थापन इतरका हौँ। हामीले रुखको पक्षमा उभिने निर्णय गरेका छौँ।'
शेखर समूहका सांसद दिवानसिंह विष्टले भने आफू निर्णय हुनुअघि नै बैठकबाट निस्किएको दाबी गरेका छन्। उनले उपस्थितिमा हस्ताक्षर गरे पनि निर्णय प्रक्रियामा सहभागी नभएको बताएका छन्।