बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माण तीव्र
बाजुरा: बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। मार्तडी–कोल्टी सडक खण्ड कोल्टीसम्म पुगेको करिब २० वर्षपछि दानसाँगु खोलामा पुल निर्माण सुरु भएको हो। लामो समय पुल नहुँदा वर्षायाममा कोल्टीतर्फ जाने सवारी साधनको आवागमनमा समस्या देखिन्थ्यो।
सडक डिभिजन कार्यालय अछामका अनुसार हाल दानसाँगु खोलामा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। पुल निर्माण सुरु भएपछि स्थानीयवासीमा खुसी देखिएको छ। पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्ने अपेक्षा स्थानीयले व्यक्त गरेका छन्।
हिउँदको समयमा पनि दानसाँगु खोलामा पुल नहुँदा मार्तडी–कोल्टी जाने सवारी साधन रोकिँदै आएको सवारी चालक रामबहादुर कार्कीले बताए। उनका अनुसार मार्तडी–कोल्टी सडकमा सबैभन्दा बढी समस्या बाउली र दानसाँगु खोलामा देखिएको छ। बाउली खोलामा निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।
बाउली र दानसाँगु खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न भए वर्षायाममा पनि मार्तडी–कोल्टी सडक नियमित सञ्चालनमा आउन सक्ने कार्कीले बताए।
यसअघि जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्ने प्रयास विवादका कारण सम्भव भएको थिएन। विवाद समाधान भएपछि उक्त बेलिब्रिज दानसाँगु खोलामा ल्याएर निर्माण कार्य अघि बढाइएको बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले जानकारी दिए।
उनका अनुसार जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा राख्न डिडिएरजनकल्याण जेभीसँग २ करोड २० लाख रुपैयाँमा सम्झौता गरिएको थियो। मङ्सिरको पहिलो सातामा पुलको औपचारिक उद्घाटन गरिएको थियो।
सम्झौता अनुसार तीन महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल काम तीव्र रूपमा भइरहेको र अबको एक महिनाभित्र बेलिब्रिज निर्माण सम्पन्न भई सवारी साधन सञ्चालनमा आउने उपप्रमुख बोहराले बताए।
दानसाँगु खोलामा स्थायी पक्की पुल निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ। त्यतिन्जेल वर्षायाममा सवारी आवागमन सहज बनाउन बडिमालिका नगरपालिकाको जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गरिएको हो। ठेकेदार कम्पनीले दुई महिनाअघि काम सुरु गरेको र आगामी एक महिनाभित्र निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष साहले बताए।