सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक

२०८२ माघ ३, ०४:४७ खबर संवाददाता

काठमाडौं: नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले नयाँ बानेश्वरमा शनिबार सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकपछि ६ बुँदे निर्णय सार्वजनिक गरेको छ। बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णय स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन, पूर्वसभापति शेरबहादुर देउवाको भूमिका र मूल्य–मान्यता सम्बद्ध विषयमा महत्वपूर्ण निर्णय गरेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले बैठकपछि सार्वजनिक गरेको निर्णय अनुसार कांग्रेसले निर्वाचन आयोगको निर्णयलाई कसैको हार–जित नभई विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ। बैठकले देउवाले पार्टी नेतृत्वमा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ र आगामी दिनमा अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

कांग्रेसले अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ। बैठकले संविधानको रक्षा, मूल्य र मान्यतामा अडिग रहँदै नवयुवाको आकांक्षा सम्बोधन गर्ने निर्णय गरेको छ। साथै, फागुन २१ गते हुने निर्वाचनमा सबै तहका समिति र भ्रातृ संस्थाहरूलाई नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन आह्वान गरिएको छ।

निर्णयअनुसार केन्द्रीय कार्यसमितिले यसो भनेको छ:

१. निर्वाचन आयोगले पार्टीको दोस्रो विशेष महाधिवेशनको निर्णयलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिएको छ। यो कसैको जित–हार होइन—यो विधान र लोकतन्त्रको विजय हो।

२. यो समय एकता, सद्भाव र सहकार्यको हो। देश–विदेशमा रहेका सबै कांग्रेसजन, तहका समिति र भ्रातृ संस्थाहरूलाई फागुन २१ को निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

३. विभिन्न कारणले पार्टीबाट निष्क्रिय वा पार्टी छाडेका सबैलाई पुनः पार्टीमा जोडिन आह्वान गरिएको छ।

४. निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले पुर्‍याएको योगदानको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरिएको छ। उनका लागि अभिभावकीय भूमिका रहने विश्वास व्यक्त गरिएको छ।

५. पार्टीले अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने पुनः प्रतिबद्धता जनाएको छ। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने र नवयुवाको आकांक्षा तथा जनताको अपेक्षा पूरा गर्ने लक्ष्य कायम गरिएको छ।

६. यो नयाँ अध्याय—रुपान्तरण, एकता र विजयको हो। सबैलाई समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।
 

कमेन्ट लोड गर्नुस