धनगढी–१२ मा प्रदेशस्तरीय पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता सुरु
धनगढीः मनकामना युवा क्लब धनगढी–१२ को आयोजनामा निसर्ग सातौँ प्रदेशस्तरीय पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता–२०८२ आजदेखि सुरु भएको छ । माघ ३ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रदेशका विभिन्न जिल्लाबाट आएका ११ वटा क्लब प्रतियोगितामा सहभागी छन् । मनकामना युवा क्लबका अध्यक्ष कृष्णराज पाण्डेले प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद १ लाख ३५ हजार र दोस्रो हुने टिमले ७० हजार पुरस्कार प्राप्त गर्ने जानकारी दिए । यस्तै भेट्रानतर्फ प्रथम हुने टिमले नगद ५० हजार र दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताअन्तर्गत उद्घाटन खेल नमोबुद्ध युवा क्लब र फार्वेस्ट पशुपति क्लबबीच भइरहेको छ ।
खेलकुदको विकास, युवामा खेलप्रतिको रुचि बढाउने तथा आपसी सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मनकामना युवा क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी डबल थापाले बताए । उनका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
मनकामना युवा क्लबले लामो समयदेखि विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ भने धनगढी–१२ को वडा कार्यालय मुख्य प्रबर्द्धकको रूपमा रहेको छ ।