सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा महिला मतदाता बढी

२०८२ माघ ४, ०१:२६ रासस

कञ्चनपुर: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लामा कुल मतदाताको सङ्ख्या तीन लाख १४ हजार ३८५ पुगेको छ। तीमध्ये महिला मतदाताको सङ्ख्या एक लाख ६० हजार ३१६ रहेको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ५४ हजार ६८ छ। महिला मतदाता पुरुषभन्दा छ हजार २४८ ले बढी रहेका छन्।

जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ। तीमध्ये निर्वाचन क्षेत्र नं २ मा सबैभन्दा बढी एक लाख नौ हजार ५७४ मतदाता रहेका छन् भने सबैभन्दा कम निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४ मतदाता छन्।

मतदाताको सङ्ख्यालाई ध्यानमा राख्दै मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी महराले बताए। अघिल्लो निर्वाचनमा तीन सय ४६ मतदान केन्द्र रहेकामा यसपटक केन्द्रको सङ्ख्या बढाएर तीन सय ६० पुर्‍याइएको छ।

कृष्णपुर नगरपालिकामा रहेका दुई वटा मतदानस्थलको स्थान परिवर्तन गरिएको भए पनि मतदानस्थलको सङ्ख्या भने साविककै एक सय ३२ कायम गरिएको छ। साथै, निर्वाचन क्षेत्र नं ३ मा दुई वटा अस्थायी मतदान केन्द्र राख्ने विषयमा छलफल भइरहेको पनि जनाइएको छ।

तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। यससँगै कर्मचारी तथा सुरक्षाकर्मी परिचालन र आवश्यक सामग्री व्यवस्थापनको काम समेत अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस