सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन प्रहरीमा मागभन्दा ७७३ बढी आवेदन

२०८२ माघ ५, १२:३४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा निर्वाचन प्रहरी भर्नाको छनौट प्रक्रिया सोमबार बिहानदेखि सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार निर्वाचन प्रहरी भर्ना छनौट कार्य औपचारिक रूपमा अगाडि बढाइएको हो ।

जिल्लामा कुल २ हजार ३२७ जना निर्वाचन प्रहरीको माग रहेकामा ३ हजार १०० जनाले आवेदन दिएका छन् । तीमध्ये नेपाल प्रहरीतर्फ २ हजार ३५ जनाको माग गरिएकोमा २ हजार ९०६ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालतर्फ २९२ जनाको माग रहेकामा मागभन्दा कम अर्थात १९४ जनाको मात्र आवेदन परेको बोहराले बताए । सशस्त्र प्रहरी बल नेपाल नं। ३५ गण झलारीमा ९८ जनाको आवेदन कम परेको छ ।

जिल्ला प्रहरी कार्यालयमा पूर्व सेनातर्फ १९२ जना, पूर्व प्रहरीतर्फ ४१ जना, पूर्व सशस्त्रतर्फ १४ जना तथा पूर्व म्यादी प्रहरीतर्फ २९८ जनाको आवेदन परेको बोहराले जानकारी दिए ।

त्यसैगरी, सशस्त्र प्रहरी कार्यालयमा पूर्व सेना ८ जना, पूर्व सशस्त्र ३ जना र पूर्व म्यादी १९ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । निर्वाचन प्रहरी छनौट गर्दा पूर्व सुरक्षाकर्मी तथा पूर्व म्यादी प्रहरीलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल कार्यालयमा गरी १ हजार ३१३ जना महिला र १ हजार ७८७ जना पुरुष गरी कुल ३ हजार १०० जनाले आवेदन दिएको बोहराले बताए ।

सोमबार बिहान ८ बजेदेखि निर्वाचन प्रहरीको छनौट प्रक्रिया सुरु गरिएको हो । उम्मेदवारहरूको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर मैदानमा प्रारम्भिक शारीरिक परीक्षण, शारीरिक सहिष्णुता परीक्षा, लिखित परीक्षा तथा अन्तरवार्तालगायतका चरणहरू सञ्चालन भइरहेको छ ।

सोमबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म ६११ दर्ता नम्बर भएका र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म ६१२ देखि १ हजार ६१३ दर्ता नम्बर भएका आवेदकहरूको छनौट प्रक्रिया सञ्चालन गरिने बोहराले बताए । बाँकी आवेदकहरूको छनौट प्रक्रिया मंगलबार र बुधबारसम्म चलाइनेछ ।

छनौटको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने जनाइएको छ । छनौट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि २४ गतेसम्म प्रशिक्षण दिइनेछ । निर्वाचन प्रहरीमा छनौट भई नियुक्त भएकाहरूको कार्यअवधि ४० दिनको रहनेछ ।
 

कमेन्ट लोड गर्नुस