सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनकपुरधाममा बालेन शाहको आह्वान: काठमाडौँ अधिकार माग्ने होइन, घुम्ने ठाउँ हो

२०८२ माघ ५, ०५:०४ खबर संवाददाता

जनकपुरधामः काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँलाई अधिकार माग्न जाने ठाउँ नभई घुम्न जाने गन्तव्यका रूपमा चित्रित गरेका छन्।

मधेस प्रदेशको जनकपुरधाममा आयोजित रास्वपाको विशाल जनसभालाई सम्बोधन गर्दै शाहले मधेसका अधिकार, समाजवादको आफ्नै परिभाषा र आगामी निर्वाचनमा रास्वपालाई मतदान गर्न आग्रह गरे।

भाषणको सुरुवातमै शाहले काठमाडौँ अधिकार माग्न धाउने ठाउँ बनेकोमा टिप्पणी गर्दै उखु किसान आन्दोलनको प्रसङ्ग जोड्दै मधेसले अझै अधिकार नपाएको अवस्था औँल्याए। उनले प्रदेश सरकारले प्रमुख प्रशासकीय अधिकृतसमेत फेर्न नसकी काठमाडौँ धाउनुपर्ने बाध्यताले वर्तमान प्रणालीमा रहेको अधिकार प्रत्याभूतिका चुनौती उजागर गरेको बताए।

शाहले काठमाडौँमा आफूले २० हजारभन्दा बढी विद्यार्थीलाई पढाएको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गराएको कार्यलाई समाजवादको व्यवहारिक उदाहरणका रूपमा प्रस्तुत गरे। साथै, मन्दिर र पोखरी संरक्षणमा आफूले गरेको काम उल्लेख गर्दै जनकपुरमा पनि पोखरी संरक्षण आवश्यक रहेको र त्यो जिम्मेवारी अब रास्वपाले लिने प्रतिबद्धता व्यक्त गरे।

आफ्नो पहिलो सार्वजनिक भाषण भएको र मेयर पदबाट राजीनामा दिएपछि बल्ल फुर्सदमा आएको उल्लेख गर्दै शाहले जनतासँग आफूलाई काम दिन आग्रह गरे। सभामा उपस्थित जनसमुदायलाई ‘काम गर्न दिने हो?’ भन्दै प्रत्यक्ष प्रश्नसमेत गरे।

मिथिलाको पावन भूमिमा आएको बताउँदै उनले देशभर १० लाख पर्यटक आउँदा जनकपुर एक्लैले त्यो धान्न सक्ने दाबी गरे। सम्पूर्ण भाषण मैथिली भाषामा गरेका शाहले अन्त्यमा एक मधेसी छोरा प्रधानमन्त्री बन्ने समय आएको उल्लेख गर्दै रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गर्न आग्रह गरे।

कमेन्ट लोड गर्नुस