सुदूर नेपाललाई विश्वसँग जोड्दै

समानुपातिक मतगणना सम्पन्न, सिट निर्धारणको प्रक्रिया सुरु

२०८२ फाल्गुन २७, ०१:१८ खबर संवाददाता

काठमाडौँः प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ। गोरखा–१ र इलाम–१ को अन्तिम मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतगणना सम्पन्न भए पनि सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट आयोगमा विवरण आउने क्रम भने अझै जारी छ। सबै विवरण प्राप्त भएपछि समानुपातिकतर्फ दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ। आयोगले केही दिनभित्रै सिट बाँडफाँटको प्रक्रिया टुंगोमा पुग्ने जनाएको छ।

आज बिहान ११ बजेसम्मको तथ्यांक अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको छ। गणना गरिएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार दुई सय ३५ मतसहित अग्रस्थानमा रहेको छ।

त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा एमालेले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत प्राप्त गरेका छन्।

हालसम्मको मतपरिणाम अनुसार अन्य दलहरू थ्रेसहोल्ड पार गर्ने अवस्थामा नदेखिएको निर्वाचन आयोगले जनाएको छ।

कमेन्ट लोड गर्नुस