इनिशा बिक हत्या प्रकरणमा न्यायको माग गर्दै माइतिघरदेखि बानेश्वरसम्म युवाको प्रदर्शन
काठमाडौं: इनिशा बिक हत्या प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै युवाहरूले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। युवाहरूको एक समूहले माइतिघरदेखि बानेश्वरसम्म मार्च गर्दै पीडितलाई न्याय दिनुपर्ने माग राखेका हुन्।
प्रदर्शनकारीहरूले बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई कडा भन्दा कडा सजाय दिनुपर्ने तथा बलात्कारीलाई फाँसी दिने कानून बनाउनुपर्ने माग गरेका थिए। उनीहरूले महिला तथा दलितमाथि हुने हिंसा अन्त्य गर्न र पीडितलाई छिटो न्याय दिन सरकारसँग आग्रह गर्दै नाराबाजी समेत गरेका थिए।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा इनिशा बिक मृत अवस्थामा भेटिएकी थिइन्। पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको उल्लेख भएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।