सुदूर नेपाललाई विश्वसँग जोड्दै

सबै भ्रष्टाचारका मुद्दा छानबिन हुनुपर्छ : मुख्यमन्त्री शाह

२०८२ फाल्गुन ३०, ०४:५९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि भएका सबै भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। 

घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ शैक्षिक भवनको शुक्रबार शिलान्यास गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरे "२०४६ सालदेखिका सबै भ्रष्टाचारका मुद्दा छानबिन हुनुपर्छ । यस विषयमा कसैले खुट्टा नकमाउनुहोस्, हाम्रो पूर्ण साथ रहनेछ," उनले भने।

मुख्यमन्त्री शाहले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको चर्चा गर्दै अबको प्राथमिकता विकास र समृद्धि हुनुपर्नेमा जोड दिए। युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह समेत गरे। "हिजो प्रश्न गर्ने ठाउँमा रहनुभएका नेताहरू अहिले उत्तर दिने ठाउँमा पुग्नुभएको छ । अब बोलेका कुरा व्यवहारमा लागू हुनुपर्छ," उनले प्रश्न गरे "युवाहरू विदेश जान कहिले रोकिन्छन् र बाहिर रहेकाहरू कहिले फर्कन्छन् ?"

उनले प्रदेश संरचना र गणतन्त्रका विषयमा रास्वपाले स्पष्ट धारणा ल्याउनुपर्ने र देश विकासका लागि निश्चित समयसीमासहितको कार्यतालिका (रोडम्याप) आवश्यक रहेको बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले सङ्घीय सरकारलाई पाँच वर्ष स्थिर रूपमा काम गर्न र नेपालीहरू स्वदेश फर्कने वातावरण बनाउन सुझाव दिनुभयो । कैलाली–३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जगत जोशीले समाज परिवर्तनका लागि नैतिक शिक्षा अनिवार्य रहेको धारणा राखे। 

घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले तीनै तहका सरकारबीच समन्वय भए मात्र नगरको विकास सम्भव हुने बताए। कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा. जीवन राना, क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु सापकोटाले शैक्षिक विकासका विविध पक्षमा चर्चा गरेकी थिइन्।

प्रदेश सरकारको १० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको ३६ कोठे शैक्षिक भवन तीन चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा चार करोड ६० लाख रुपैयाँको ठेक्का सम्झौता भई निर्माण सुरु भएको सो भवनको मुख्यमन्त्री शाहले शिलान्यास गरेका हुन्। 

कमेन्ट लोड गर्नुस