धनगढीका निशानमाथि अष्ट्रेलियामा २५ सय केजी लिफ्ट खस्यो, जीवन जोखिममा
धनगढी: अष्ट्रेलियामा अध्ययन र कामको खोजीमा पुगेका धनगढीका १९ वर्षीय निशान देव सिड्नीमा भीषण दुर्घटनाको शिकार भएका छन्। उनी जीवन र मरणको दोसाँधमा संघर्ष गरिरहेका छन्।
निशान चार महिना अघि अध्ययनका लागि धनगढीबाट अष्ट्रेलियाको सिड्नी पुगेका थिए। फेब्रुअरी १३ मा म्यास्कटस्थित क्याटरिङ कम्पनीमा किचन ह्यान्डको रूपमा काम गरिरहँदा दुर्घटना भएको हो। सामान ओसार्ने लिफ्ट बिग्रिएपछि इमर्जेन्सी बटन थिचेर सामान निकाल्ने प्रयास गर्दा करिब २५०० केजीभन्दा बढी तौलको लिफ्ट उनीमाथि खस्यो।
निशानले आफ्नो पीडा व्यक्त गर्दै भने, “२५०० केजी जति तौल मेरो शरीरमाथि खस्यो। मेरो आधा शरीर लिफ्टको भित्र र आधा बाहिर भयो। म बीचमै नराम्ररी थिचिएँ। लिफ्टले तलतल पेल्दा मेरा एङ्कलहरू पाँच–छ पटक घुमे र टुक्रा–टुक्रा भए।”
चिकित्सकका अनुसार यस दुर्घटनामा निशानका १४ वटा करङ भाँचिएका छन् र फोक्सोमा प्वाल परेको छ। उनका दुवै खुट्टा र एङ्कल गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। करिब एक महिना लामो अस्पताल उपचारपछि उनी सिड्नीको सानो कोठामा फर्किएका छन्। तर अवस्था अझै नाजुक छ। कोठामा हेरचाह गर्ने कोही नभएकाले दैनिक गतिविधि गर्न समेत कठिन भइरहेको छ।
निशानले करिब ३५ लाख रुपैयाँ ऋण गरेर अष्ट्रेलिया आएका थिए। दुर्घटनाका कारण उनका अध्ययन कार्य पूर्ण रूपमा ठप्प भएका छन् र उनले आफ्नो पढाइ ‘डिफर’ गर्न बाध्य भएका छन्। आमालाई अष्ट्रेलिया ल्याएर हेरचाह गराउन चाहेपनि आर्थिक अभावले यो सम्भव भएको छैन।
उनको उपचार र सहयोगका लागि एनआरएनए न्यु साउथ वेल्सको पहलमा आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। इच्छुक व्यक्तिहरूले सहयोग गर्न सक्ने बताइएको छ।