आज विश्व उपभोक्ता अधिकार दिवस: ‘सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता’ नारासहित मनाइँदै
काठमाडौं: आज मार्च १५ का दिन विश्वभर ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाइँदैछ। उपभोक्ताका अधिकारबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ।
यस वर्ष २०२६ को विश्व उपभोक्ता अधिकार दिवसको विषयवस्तु ‘सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता’ रहेको छ। यो विषयले उत्पादनको सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता, खतरनाक वस्तुहरू विरुद्ध कडा नियमन तथा भौतिक र डिजिटल बजार दुवैमा उपभोक्ताको विश्वास निर्माण गर्ने कुरामा जोड दिएको छ। सुरक्षित उत्पादनले उपभोक्तामा आत्मविश्वास बढाउने सन्देश यस विषयवस्तुले दिएको छ।
सन् १९६२ मार्च १५ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार आधारभूत अधिकारका रूपमा घोषणा गरेका थिए। सोही घटनाको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिएको हो।
यसै आधारमा संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८५ मा उपभोक्ता संरक्षणसम्बन्धी अनुबन्ध पारित गर्दै उपभोक्ताका अधिकारलाई थप विस्तार गरेको थियो। त्यसपछि विभिन्न देशहरूले आफ्ना उपभोक्ता संरक्षणसम्बन्धी कानुनहरू लागू गरेका छन्।
उपभोक्ताका आठ प्रमुख अधिकारमा सुरक्षा, सूचना पाउने, छनोट गर्ने, सुनुवाइ हुने, उपभोक्ता शिक्षा प्राप्त गर्ने, क्षतिपूर्ति पाउने, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्ने अधिकार समावेश छन्।
नेपालमा पनि विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ।