प्रकाश देउवा ७ महिनादेखि प्रदेशसभा बैठकमा अनुपस्थित, अमेरिका गएको चर्चा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पछिल्ला करिब ६ महिनादेखि सम्पर्कमा छैनन्। २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि उनी प्रदेशसभा सचिवालयसँग पनि सम्पर्कविहीन बनेका छन्।
देउवा निकट काँग्रेस कैलालीका नेताहरूका अनुसार जेन्जी आन्दोलन भएको चार दिनपछि उनी अमेरिका गएका थिए। उनका एक निकट नेताले देउवाले ११ माघमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनअघि नै नेपाल फर्किने बताएको भए पनि अझै फर्किन नसकेको बताए। हाल उनले एक साताभित्र फर्किने जानकारी दिएको ती नेताले बताए।
देउवा झण्डै सात महिनादेखि प्रदेशसभा बैठकमा पनि उपस्थित भएका छैनन्। सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को धारा १९३ अनुसार लगातार १० बैठकमा विनासूचना अनुपस्थित भए प्रदेशसभा सदस्यको पद नै रिक्त हुन सक्ने व्यवस्था छ। तर पछिल्लो सात महिनामा जम्मा सातवटा मात्र बैठक बसेकाले उनको पद भने कायम नै रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
सम्पर्कविहीनजस्तै रहेका देउवाको तलब तथा सुविधा भने सचिवालयले रोक्का गरेको छ। सचिवालयका एक कर्मचारीका अनुसार लामो समयसम्म सम्पर्कमा नआएको र आधिकारिक जानकारी पनि नदिएको अवस्थामा तलब भुक्तानी गर्दा प्रश्न उठ्न सक्ने भएकाले हाललाई भुक्तानी रोकिएको हो। उनी फर्किएपछि एकमुष्ट तलब सुविधा उपलब्ध गराउन सकिने बताइएको छ।
यस्तै नेपाली काँग्रेस संसदीय दलले पनि देउवा सम्पर्कमा नरहेको जनाएको छ। संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले देउवा कहाँ छन् भन्ने कुरा थाहा नभएको बताए। उनले भने, 'प्रकाशबहादुर देउवा कहाँ हुनुहुन्छ भन्ने कुरा संसदीय दलको जनाकारीमा छैन। उहाँसँग कुनै पनि सुत्रबाट हाम्रो कुराकानी भएको छैन।'
प्रकाशबहादुर देउवा नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन्। २०७९ सालको प्रदेशसभा निर्वाचनमा विजयी भएका उनी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने आकांक्षामा थिए। तर दलको नेता कमलबहादुर शाह चयन भएपछि उनी भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए।
केन्द्रमा एमाले–काँग्रेस गठबन्धन सरकार बनेपछि देउवा दल नेता हुँदै मुख्यमन्त्री बन्ने चर्चा चलेको थियो। तर संघीय सरकारमा उनकी काकी आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि दल नेतृत्व परिवर्तनमा देउवा परिवार नै तयार नभएको चर्चा थियो।
पछिल्लो समय मुख्यमन्त्री शाह र देउवाबीच सम्बन्ध चिसिएको बताइन्छ। देउवाले मुख्यमन्त्री शाहको कार्यशैलीप्रति अनौपचारिक असन्तुष्टि जनाउँदै आएका थिए भने मुख्यमन्त्री शाहले पनि आफ्नै पार्टीभित्रबाट असहयोग भइरहेको सार्वजनिक रूपमा टिप्पणी गर्दै आएका थिए।