सुदूर नेपाललाई विश्वसँग जोड्दै

माछापुच्छ्रे एसआइपी योजनाको इकाई कारोबार सुरु

२०८२ चैत्र ३, १०:०२ खबर संवाददाता

धनगढीः माछापुच्छ्रे बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा सञ्चालन गरिएको खुलामुखी सामूहिक लगानी कोष योजना 'माछापुच्छ्रे एसआइपी योजना (MSIP)' को इकाई खरिद, पुनर्खरिद तथा बिक्री सेवा चैत्र १, २०८२ देखि सुरु गरिएको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार प्रारम्भिक निष्कासनमार्फत जारी गरिएका इकाईहरूको बाँडफाँड सम्पन्न भएको तीन महिनाभित्र इकाई खरिद–बिक्री गर्न मिल्ने व्यवस्थाअनुसार उक्त सेवा सञ्चालनमा ल्याइएको हो।

यस योजनाको इकाई खरिद, पुनर्खरिद तथा बिक्री सेवा लिन माछापुच्छ्रे क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय जे.डी.ए. कम्प्लेक्स, बागदरबार, काठमाडौं तथा माछापुच्छ्रे बैंक लिमिटेडका सबै शाखा कार्यालयहरूबाट सुविधा उपलब्ध हुनेछ। साथै, अनलाइन माध्यमबाट पनि कारोबार गर्न सकिने व्यवस्था गरिएको छ। लगानीकर्ताले अनलाइन पोर्टलमा लगइन गरी eSewa, Khalti र Connect IPS जस्ता डिजिटल भुक्तानी सेवामार्फत भुक्तानी गरेर इकाई कारोबार गर्न सक्नेछन्।

एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा आएको 'माछापुच्छ्रे एसआइपी योजना (MSIP)' पहिलो खुलामुखी योजना हो। यस योजनाको कुल स्वीकृत आकार ५ करोड इकाई रहेको छ। प्रारम्भिक चरणमा प्रति इकाई १० रुपैयाँ अंकित दरका २ करोड इकाई २०८२ मंसिर १४ देखि १७ गतेसम्म सार्वजनिक रूपमा निष्कासन गरिएको थियो।

उक्त अवधिमा ५१ हजार ७४७ जना आवेदकबाट ३ करोड १९ लाख ३६ हजार ७७० इकाईका लागि आवेदन प्राप्त भएको थियो। योग्य आवेदकहरूलाई २०८२ पुस १ गते इकाई बाँडफाँड गरिएको थियो।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित यो मर्चेन्ट बैंकिङ संस्थाले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्कासन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्यता तथा सामूहिक लगानी कोष सम्बन्धी विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस