ब्राउन सुगर सहित कैलालीका तीन युवालाई एसएसबीले समात्यो
धनगढीः भारतको खिरी जिल्लास्थित सम्पुर्णानगरको बसही क्षेत्रमा सोमबार साँझ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले ८ दशमलव ५० ग्राम ब्राउन सुगरसहित ३ जना नेपालीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको गोदावरीका प्रदीप चौकाल, विनोद पुन मगर र विमल चन्द रहेका छन्। उनीहरू सवार पल्सर मोटरसाइकलमा लागू औषध बरामद भएको एसएसबीले जनाएको छ।
तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्पुर्णानगर प्रहरीको जिम्मा लगाइएको छ।
पछिल्लो समय कञ्चनपुरको दक्षिणी सीमाक्षेत्रमा लागू औषध ओसारपसारका घटनाहरू बढ्दो क्रममा छन्। प्रहरीले नियमित रूपमा यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिरहेको भए पनि लागू औषधको अवैध कारोबार भने पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।