सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा र्‍याफ्‌टिङ सुरु

२०८२ चैत्र ३, ०४:२५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको छ ।

सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायीसँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सन् २०१७ मा महाकाली बहुउपयोग परियोजना अन्तर्गत र्‍याफ्टिङको सम्भाव्यता अध्ययन गरिएकोमा सन् २०२१ मा यसको सफल परीक्षण गरिएको बताए। 

त्यस यता विभिन्न कारणले र्‍याफ्टिङ सञ्चालनमा नआए पनि सोमबारदेखि विभिन्न सङ्घ संस्थाको पहलमा व्यवसायिक रुपमा राफ्टिङ सुरु गरिएको उनले बताए। 

हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुई वटा र्‍याफ्टिङ बोट सञ्चालनमा ल्याइएको छ । र्‍याफ्टिङ सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । 
पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी र्‍याफ्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । भारततर्फबाट भने दुई वटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा र्‍याफ्टिङ सञ्चालन गर्दै आएका छन्। 

होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन प्रवद्र्घन गर्नका लागि निजी क्षेत्र तयार रहेको बताए।  

करिब २५ वर्षदेखि नेपालका ठूला नदीमा र्‍याफ्टिङ व्यवसाय सञ्चालन गरिरहेका नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीका निवर्तमान अध्यक्ष शिव अधिकारीले कम जोखिम तथा सहज जलयात्रा रुचाउने पर्यटकका लागि महाकाली उपयुक्त नदी रहेको बताए। 

स्थानीय तहका प्रमुखले पनि र्‍याफ्टिङ पर्यटनको प्रवद्र्घनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले र्‍याफ्टिङ विकास तथा प्रचारप्रसारका लागि पालिका सहकार्य गर्न तयार रहेको बताए। 

त्यसै गरी, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले ¥याफ्टिङ व्यवसाय प्रवद्र्घन तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले थप सहयोग प्रदान गर्ने बताए। 

कमेन्ट लोड गर्नुस