नेपाल–इन्डो क्रिकेटः कैलपाल र त्रिपुरा विजयी
धनगढीः बैतडीमा जारी नेपाल–इन्डो टि २० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलवार सम्पन्न खेलमा त्रिपुरा क्रिकेट क्लब र कैलपाल क्रिकेट क्लब विजयी भएका छन्। त्रिपुराले भेलेनाथ क्रिकेट क्लबलाई ८३ रनले हराउँदा कैलपालले दशरथचन्द एकेडेमीमाथि १४१ रनको विशाल जित निकाल्यो।
त्रिपुराले दिएको २५२ रनको लक्ष्य पछ्याएको भेलेनाथले २० ओभरमा ८ विकेटको क्षतिमा १६८ रन मात्रै बनाउन सक्यो। जसमा देवराम महरले सर्वाधिक ४२ रन जोडे। त्रिपुराका सुरेन्द्र थापाले ३ विकेट हात पारे। यसअघि पहिला ब्याटिङ गरेको त्रिपुरा निर्धारित २० ओभरमा २५१ रनमा अलआउट भयो। उसका प्लेयर अफ दी म्याचसमेत भएका जगदीश मौनीले ६८ र महेन्द्र थापाले ६६ रनको योगदान गरे। भोलेनाथका उद्धव लुहारले ३ विकेट झारे।
मंगलवार भएको अर्को खेलमा २०१ रनको विजय लक्ष्य पछ्याएको एकेडेमी १७ दशमलब २ ओभरमा ७० रनमा समेटियो। एकेडेमीका आदर्श चन्दले १५ र प्रेम चन्दले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बलिङमा कैलपालका अमर चन्द, भुपेन्द्र चन्द र राम चन्दले २÷२ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको कैलपालले १७ दशमलव १ ओभरमा २०० रनमा रोकियो। प्लेयर अफ द म्याचसमेत घोषित भएका वीरेन्द्र साउँदले ६१, विक्रम बोहराले ४७ रनको पारी खेले। एकेडेमीका रविन्द्र चन्दले ४ विकेट लिए। पञ्चकोटी युवा क्लबको आयोजनामा फागुन २८ गतेदेखि सुरु भएका प्रतियोगितामा नेपाल र भारतका गरेर १२ टोलीको सहभागिता रहेको छ।
चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो । प्रतियोगिताले क्रिकेटको विकासका साथै दुई देशका सम्बन्ध प्रगाढमा सहयोग पुग्ने विश्वास राखिएको छ।