नुवाकोटमा घाँस काट्न गएकी महिलालाई लाग्यो गोली
काठमाडौँः नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा घाँस काट्न गएकी एक महिलालाई सिकारका क्रममा चलेको गोली लागेर गम्भीर घाइते भएकी छन्।
स्थानीय ४१ वर्षीया कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले चलाएको गोली छातीमा लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार उनको अवस्था गम्भीर रहेको छ।
घटनापछि घाइते तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ। हाल उनी धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत छिन्।
प्रारम्भिक अनुसन्धान अनुसार बिहीबार दिउँसो १७–१८ जना स्थानीय मिलेर बस्ती नजिकैको जङ्गलमा सिकार खेल्न गएका थिए। सोही क्रममा गोली लाग्ने घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।