सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कपका लागि सुदूरपश्चिम टोलीको जर्सी सार्वजनिक

२०८२ चैत्र ७, ०२:०२ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ।

शनिबार आयोजित कार्यक्रममा टोलीका मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका शेर मल्लको कप्तानीमा रहेको सुदूरपश्चिम टोलीलाई यस सिजनदेखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गर्दै आएको छ। कलेजले तीन वर्षका लागि प्रदेशका महिला तथा पुरुष दुवै क्रिकेट टोलीलाई प्रायोजन गरेको जनाएको छ।

कार्यक्रममा प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना दिँदै प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्यका साथ अघि बढ्न आग्रह गरे। त्यस्तै, प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले कलेजको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत विश्वास कायम गर्ने प्रतिबद्धता जनाए।

टोलीमा कप्तान शेर मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी रहेका छन्।
 

कमेन्ट लोड गर्नुस